पवन कुमार उपाध्याय
पुस १०, रौतहट
चिसो बढ्न थालेसँगै रौतहटका बजारमा न्यानो कपडाको व्यापारमा वृद्धि भएको छ ।जिल्लाको गरुडा , चन्द्रपुर, सदरमुकाम गौर, समनपुर, कटहरिया लगायतका स्थानीय बजारमा जाडोयाममा लगाउने न्यानो कपडाको व्यापार बढ्न थालेको हो । स(साना बालबालिकादेखि अन्य उमेर समूहका मानिसले लगाउने तातो कपडाको बिक्री बढेको व्यापारीले बताएका छन् ।
क्रमिक रुपमा चिसो बढ्दै जाँदा ज्याकेट, स्विटरलगायत कपडा बेच्ने पसलमा ग्राहकको भीड देखिन थालेको छ । बजारका कपडा पसल तथा फेन्सी पसलमा ज्याकेट, स्विटर, कोट, गलबन्दी, टोपीलगायत न्यानो कपडाको बिक्री बढेको व्यापारीले बताएका छन् । दैनिक पाँच÷सात हजारसम्म बिक्री हुने कपडा पसलमा अहिले जाडोमा लगाइने कपडाको माग बढेकाले दोब्बर बिक्री हुन थालेको
व्यापारीको भनाई छ ।
चिसोबाट जोगिन प्रत्येकजसोले न्यानो कपडाको जोहो गर्न थालेका छन् । मंसिर लागेपछि चिसो बढ्दै जान थालेपछि रौतहटका कपडा व्यापारीले संघीय राजधानी काठमाडौंसहितका ठाउँबाट धमाधम न्यानो कपडा ल्याइरहेका छन् । जाडोका कारण सिरक डस्नाको व्यापार पनि बढ्न थालेको छ । सिरक डस्ना बनाउनेलाई अब जाडोयाम भर कामको चटारो पर्ने गरेको छ । जाडोयाममा धेरै मानिस सिरक डस्ना बनाउने ग्राहक खोज्दै प्रत्येजसो गाउँबस्तीमा पुुग्ने गरेका छन् ।