वर्तमानकाल सम्वाददाता
पुस १२ गते ।
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको गएराति निधन भएको छ । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो । घरमा अचानक बेहोस भएपछि उहाँलाई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स लगिएको थियो । उपचारको क्रममा उहाँको निधन भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार सिंहलाई उमेरसँग सम्बन्धित समस्याहरू देखिएपछि लामो समयदेखि घरमै उपचार भइरहेको थियो ।सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो ।
सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उहाँले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो ।
यस्तै उहाँले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हाल्नुभएको थियो । उहाँले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिनुभएको थियो ।
भारतीय प्रधानमन्त्री मोदी लगायतका सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उहाँलाई एक असल एवम् कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन् ।
प्रधानमन्त्री मोदीले सिंहको निधनको खबरले आफूलाई दुःखी तुल्याएको बताउनुभएको छ । सिंहलाई भारतको उदारीकरण र आर्थिक सुधारहरूका योजनाकार मानिन्छ ।
नेपालको राजनीतिक मामिलामा पनि सिंह अविस्मरणीय पात्र हुनुहुन्थ्यो । उहाँ भारतको प्रधानमन्त्री भएकै बेला नेपालका प्रमुख दल र तत्कालीन विद्रोही माओवादीबीच नयाँ दिल्लीमा १२ बुँदे सम्झौता भएको थियो ।