वर्तमानकाल सम्वाददाता
पुस १४ गते ।
बाराको गढीमाईमा यसपालि लागेको पञ्चवर्षीय मेलामा करोडौं अनियमितता भएको भन्दै प्रश्न उठेको छ। प्रसिद्ध गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा एक पटक पशु चौपाया बलि दिने मेला लाग्छ। यस पटक मंसिरमा गढीमाईमा मेला लागेको थियो। यस पटकको मेलाका अवसरमा सञ्चालन हुने मनोरञ्जनका साधनको टिकट शुल्क, व्यावसायिक प्रयोजनका लागि लगाइने जमिन भाडा, स्टल भाडालगायतको आम्दानीमा अनियमितता भएको मेला समितिकै पदाधिकारीले आरोप लगाएका छन्।
मेला मूल समितिले २०७६ मा लागेको मेलाको भन्दा यसपालिको मेलामा भएको कारोबारभन्दा निकै कमको आयव्यय विवरण सार्वजनिक गरेपछि समितिभित्रका पदाधिकारीले अनियमितता भएको भन्दै प्रश्न उठाएका हुन्। महागढीमाई नगरपालिका–१ बरियारपुरका वडाध्यक्ष मनोजकुमार गुप्ताले मेलाको आयव्यय अपारदर्शी देखिएको बताए। उनी गढीमाई पञ्चवर्षीय मेला मूल समितिका उपाध्यक्ष समेत हुन्। मेला समितिको अध्यक्ष भने महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव हुन्।
उनकै मिलेमतोमा अनियमितता भएको उपाध्यक्ष रहेका वडाध्यक्ष गुप्ताको आरोप छ। गुप्ताका अनुसार पाँच वर्ष अघि २०७६ मा लागेको मेलाको कारोबारभन्दा यस पटकको मेलाको कारोबार आधाभन्दा पनि कम देखाइएको छ। उनका अनुसार २०७६ को मेलामा मनोरञ्जनका साधनको टिकटबापत मात्रै ७ करोड भन्दा बढीको कारोबार भएको थियो। यस पटक त्यसको आधाभन्दा पनि कम तीन करोड ३४ लाख मात्रै कारोबार भएको भनिएको छ ।
जुन आफैमा शंकास्पद् रहेको गुप्ताले बताए। अहिले मनोरञ्जन साधन सञ्चालनबाट मेलामा जम्मा तीन करोड ३४ लाखको टिकट काटिएको नगरप्रमुख उपेन्द्र यादवले हामीलाई भने पछि हामीहरू आश्चर्यमा परेका छौ,’ गुप्ताले भने। यस्तै, यस पटकको मेलामा स्टल बुकिङ र जग्गा भाडा पनि निकै कम देखाइएको छ। २०७६ मा स्टल, पार्किङलगायतका काममा प्रयोग हुने जमिनको भाडाबाट ८० लाखको कारोबार भएको थियो।
अहिले ४५ लाख मात्रै देखाइएको समितिका उपाध्यक्ष गुप्ता बताउँछन्। स्रोतका अनुसार २०७६ अघि मेला समितिले एकमुस्ट जग्गा बुकिङ र मनोरञ्जनको कार्यक्रम सञ्चालनको ठेक्का लगाउने गरेको थियो। मेलामा सञ्चालन हुने मनोरञ्जनका कार्यक्रम चर्खा, मौतका कुवा, नाउ झुला, ब्रेक डान्स, रेल झुला, जादु, राज सर्कसजस्ता मनोरञ्जनका साधन सञ्चालन गर्न मेला समितिले २०७६ मा एकमुस्ट एक करोड २५ लाखमा ठेक्का दिएको थियो।