वर्तमानकाल सम्वाददाता
पुस १५, रौतहट
कटहरिया नगरपालिकामा फेरि एकपटक तालाबन्दी भएको छ। यस पटक उपप्रमुख र अधिकांश वडाध्यक्षहरूले नगर कार्यालयका विभिन्न शाखाहरू– योजना, लेखा, र प्रशासन शाखासहित नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत (प्रप्रअ) को कार्यकक्षमा ताला लगाएका हुन्। नगर प्रमुख अजयप्रकाश र प्रप्रअ रामजी जोशीको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाउँदै उपप्रमुख रीतादेवी यादवसहित वडा नम्बर–१ का जितेन्द्र महतो, २ का हरिन्द्र साह कलवार, ४ का चन्दनकुमार कुशवाहा, ५ का सर्फलाल गुप्ता, ६ का जयराम चौधरी र ७ का सहिद आलमले मंगलबार दिउँसो कार्यालयमा ताला लगाएका थिए ।
करारका कर्मचारीहरूको तलब महिनौँदेखि रोकिएको छ । उपप्रमुखसहितका जनप्रतिनिधिहरूले पहिले बाँकी तलब भुक्तानी गरी मात्र नयाँ भर्ना गर्नुपर्ने धारणा राखेका छन् । तर, नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले भने नयाँ भर्ना पहिला गरिनुपर्ने अडान लिएका छन् । गत पुस ८ गते कार्यपालिकाको बैठकमा अनुपस्थित भएपछी आक्रोशित जनप्रतिनिधिहरूले ताला लगाउने निर्णय गरेका थिए । पुस र माघमा नगर सभा चल्ने समयमा कार्यालयमा ताला लगाउँदा नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प भएको छ ।
योजना निर्माण, प्रशासन, लेखा कार्य, र अन्य सेवा प्रवाह ठप्प हुँदा स्थानीयहरू मारमा परेका छन्। गत वर्ष पनि यस्तै समयमा तालाबन्दी भएको थियो। कैयौँ दिनसम्म कार्यालय बन्द रहेपछि छलफलमार्फत ताला खोलिएको थियो। यता नगर प्रमुख अजयप्रकाशले भने केही जनप्रतिनिधिहरूले आफ्ना स्वार्थका कारण बिना छलफल ताला लगाएको बताएका छन् । हरेक वर्ष हिउँदे अधिवेशनको समयमा विभिन्न माग राखेर स्वार्थ पूरा गर्न उपप्रमुखसहितका वडाध्यक्षहरुले ताला लगाउने गरेको उनको आरोप छ ।
यसभन्दा पहिले पनि नगरपालिकामा जनप्रतिनिधिहरुले नै ताला लगाएका थिए । त्यति मात्र नभएर उक्त पालिकामा काम गर्ने एक जना करारका कर्मचारीहरुले भने कि जनप्रतिनिधिहरुको हामिहरुको माग थाती राखेर मात्र आफ्नो बजेट नमिल्दा उनीहरु आफ्नो स्वार्थको लागी यसो गरेको नाम नबताउने सर्तमा पालिकाको एक जना कर्मचारीले बताएका छन । वहाँको अनुसार यदि जनप्रतिनिधिहरुको भागबन्डाको कुरा मिल्दा करारको कर्मचारीहरुको कुनै पनि वास्ता नगर्ने यस्ता जनप्रतिनिधिहरुको कुनै आशा नरहेको समेत बताउनु भयो ।।
हामि करारको कर्मचारीहरुको करिब ७ देखि ८ महिनासममको कुनै पनि तलव भाता नदिदा यि जनप्रतिनिधिहरुको कुनै चासो आएन तर अहिले आएर उनीहरुको बजेट भागबन्डा नमिल्दा हाम्रो नाममा खेल्ने गरेको आरोप समेत लगाउनु भयो । यता प्रमुख प्रशासकीय अधिकृत जोशी महिनामा केवल एक–दुई दिन मात्र कार्यालय आउने गरेका बुझिएको छ ।