रमेश कुमार यादब
पुस १५, रौतहट
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले विभिन्न चुनौती र बाधा अवरोधको सामना गर्दै आफ्नो नगरलाई समृद्ध बनाउने उद्देश्यले काम गरिरहेका छन् । बिकास बिरोधीहरुले पालिकालाई कमजोर बनाउने तथा असफल बनाउने योजनाको चिर्दै सोमबार गरुडा नगरपालिकाको वार्ड नं. २ गेढीगुठीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ७ सय मिटरको ढलान सडकको शिलान्यास गर्नु भएको हो ।
उक्त सडक निर्माणको लागि नगरस्तरीय बजेटबाट २३ लाख रुपैयाँको लागत बन्ने नगर प्रमुख जैसवालले बताउनु भयो । १३ फिट चौडाइ र ७ सय मिटर लम्बाइको यस सडकको निर्माण कार्य श्री हनुमान मन्दिर सडक ढलान उपभोक्ता समितिको अध्यक्ष भुपनरायण सहनीको नेतृत्वमा सम्पन्न हुने जानकारी दिइएको छ । यो सडक कच्ची रहेको र पानी पर्दा हिलो तथा अन्य समयमा धुलोले भरिने समस्या रहेकोले स्थानिय बासिन्दाहरू लामो समयदेखि यस सडकको सुधारको माग गर्दै आएका थिए ।
कच्ची सडकले दैनिक आवागमनमा कठिनाइ तथा स्वास्थ्यमा पनि असर गर्दै आएको स्थानीयहरूले बताएका छन् । सो क्षेत्रका बासिन्दाहरू वर्षौंदेखि कच्ची सडकका कारण सास्ती भोग्दै आएका थिए । यसै सन्दर्भमा नगरपालिकाले ढलान सडक निर्माण गर्ने निर्णय गरेपछि स्थानियहरूको खुशीले सीमा नाघेको छ । नगर प्रमुख जैसवालले शिलान्यास कार्यक्रममा बोल्दै “नगरपालिकाको विकास मेरा लागि प्रमुख प्राथमिकता हो ।
हरेक वडामा आधारभूत पूर्वाधार निर्माण गर्दै नगरवासीको जीवनस्तर उकास्ने मेरो उद्देश्य हो । यो सडकले यहाँका बासिन्दाको जनजीवनलाई सहज बनाउनुका साथै क्षेत्रको समग्र विकासमा योगदान पु¥याउनेछ ।“ नगरको समग्र विकासका लागि जनप्रतिनिधिहरूले सक्रियतापूर्वक काम गरिरहेको बताउनु भयो ।
उहाँले स्थानीयस्तरमै विकास निर्माणको काममा सहभागी गराई नगरको प्रगति सुनिश्चित गर्न उपभोक्ता समितिहरूलाई प्राथमिकता दिइएको उल्लेख गर्नु भयो । स्थानिय बासिन्दाहरूले ढलान सडकको निर्माणले आफ्नो जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरेका छन्। यस कार्यले नगरपालिकाभित्र अन्य विकास निर्माणको लागि पनि प्रेरणा दिने विश्वास गरिएको छ ।
सडक ढलान कार्यले विद्यालय जाने विद्यार्थीहरू, व्यापार व्यवसाय सञ्चालन गर्ने व्यापारीहरू र सर्वसाधारणलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । आगामी दिनमा नगरपालिकाले यस्तै अन्य विकास परियोजनाहरूलाई पनि प्राथमिकता दिने योजना बनाएको बताइएको छ ।