रमेश कुमार यादब
पुस १९, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिकाले चिसो दिनानुदिन बढ्दै जाँदा यस वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अति गरिब, बिपन्न तथा दलित परिवारलाई लक्षित गरी कम्बल वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । यसै क्रममा रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं. ६ पोठियाहिमा रहेको वार्ड कार्यालय नजिक अति गरिब, विपन्न, तथा दलित परिवारलाई शुक्रबार एक कार्यक्रमको बीचमा कम्बल वितरण गरिएको हो ।
नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको नेतृत्वमा आयोजित कार्यक्रममा १६० जना गरिब, दलित र असाहाय परिवारलाई कम्बल वितरण गरिएको छ । नगर प्रमुख जैसवालले कम्बल वितरण गर्दै कुनै पनि विपन्न वर्गका नागरिकले सिरक वा कम्बलको अभावमा कठ्याङग्रिएर सुत्न नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताए ।
गरुडा नगरपालिकाले यो अभियान नगरका सबै नौ वटा वडामा सञ्चालन गर्ने योजना बनाएको छ । नगर प्रमुखका अनुसार यस
प्रकारको सहयोगले विपन्न वर्गका नागरिकलाई चिसोबाट जोगाउन सकिनेछ । नगर प्रमुख जैसवालले कम्बल वितरण गर्दै नगरपालिकाले चिसोका कारण कुनै पनि विपन्न परिवारले समस्या भोग्न नपरोस् भन्ने उद्देश्यका साथ यो अभियान सञ्चालन गरेको बताउनु भयो । उहाँले भन्नुभयो, कुनै पनि नागरिक चिसोका कारण कठ्याङग्रिएर सुत्न नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो ।
“ सिरक र कम्बलको अभावका कारण कठ्याङ्ग्रिएर सुत्नुपर्ने अवस्थाबाट मुक्त गराउन यो कार्यक्रमले ठोस योगदान दिने अपेक्षा गरिएको छ । नगरपालिकाका सबै वडामा यसरी नै बिस्तारै अन्य सामुदायिक सेवा कार्यक्रमहरू समेत सञ्चालन गरिने योजना रहेको नगर प्रमुख जैसवालले जनाइएको छ । यस अघि नगर प्रमुख जैसवाल आफ्नो नगरको बिभिन्न वार्डमा गरि करिब १ हजार २ सय अति बिपन्न, गरिब नागरिकहरुलाई कम्बल बितरण गरिसक्नु भएको हो ।
गरुडा नगरपालिकाले हरेक वर्षजस्तै यस वर्ष पनि सामाजिक उत्तरदायित्व अन्तर्गत जाडो मौसममा विशेष गरी गरिब तथा असहाय परिवारका लागि राहत कार्यक्रम सञ्चालन गरिरहेको छ । यसपटक कम्बल वितरणसँगै चिसोले थप समस्या नबढोस भन्ने उद्देश्यले स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
कम्बल पाएका स्थानीय बासिन्दाहरूले यस्तो सहायताले आफूहरूको दैनिकीमा ठूलो राहत पुगेको बताएका छन् । पोठियाहि निवासी एक लाभग्राहीले भने, “सिरक नभएर रातभर कठ्याङग्रिनु परेको थियो। कम्बल पाएपछि अब चिसोबाट बच्न सकिनेछ।“वितरण कार्यक्रममा सोहि वार्डका वडाअध्यक्ष रामबाबु चौधरी, विभिन्न वार्डका वडाध्यक्ष, जनप्रतिनिधि तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लाभान्वित नागरिकहरुले पालिकाको यो कदमप्रति धन्यवाद व्यक्त गर्दै यस्तो राहतले कठ्याङग्रिँदो जाडोमा ठूलो राहत मिलेको बताए । नगरपालिकाले आगामी दिनमा पनि यस्ता सामाजिक कल्याण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै विपन्न वर्गका नागरिकको जीवनस्तर सुधार्न सहकार्य गर्न सबैलाई आग्रह गरेको छ ।