रौतहट,२१ पुस। रौतहटमा १६ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ परेका छन । जिल्लाको कटहरिया नगरपालिका(१ का ५२ वर्षीय जितन महतो नुनिया १६ वर्षपछि प्रहरीले पक्राउ गरेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटले विशेष सूचना र निगरानीका आधारमा पक्राउ गरेको हो ।प्रहरीका अनुसार जितन महतोमाथि आफ्नै भाइकी श्रीमती शारदा देवीको हत्या गरेको आरोप छ । घटना २०६५ साल पुस २७ गते भएको हो । उक्त दिन शारदा देवीको शव खेतमा गाडिएको अवस्थामा फेला परेको थियो।
घटनापछि जितन फरार थिए र १६ वर्षसम्म लुकिछिपी बसेका थिए ।जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार पक्राउ परेका जितन महतोलाई कानुनी प्रक्रिया पूरा गरी म्याद थप गराइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।शारदा देवीको हत्या किन र कसरी भएको थियो भन्ने विषयमा प्रहरीले थप प्रमाण संकलन गरिरहेको छ ।
घटनाको समयमा परिवारभित्रै विवाद रहेको र त्यही विवादकै कारण हत्या भएको हुनसक्ने आशंका गरिएको छ । शारदा देवीको हत्यापछि सो घटनाले उक्त क्षेत्रको समाजमा ठूलो चर्चा पाएको थियो। प्रहरीले लामो समयसम्म उनको खोजी गरे पनि उनी भारतको विभिन्न स्थानमा लुकेर बस्दै फरार नै रहँदै आएका थिए । आखिरमा १६ वर्षपछि प्रहरीले उनलाई नियन्त्रणमा लिन सफल भएको हो ।जितनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएपछि मृतक शारदा देवीको परिवारले ढिलै भए पनि न्याय पाइने आशा गरेको छ ।
लामो समयसम्म फरार रहेका व्यक्तिहरूलाई कानुनी कारबाही मार्फत न्याय दिलाउन प्रहरीले यसलाई महत्वपूर्ण सफलता मानेको छ । घटनाको थप विवरण भने अनुसन्धानपछि मात्रै खुलाउने प्रहरी स्रोतले जनाएको छ । प्रहरीले स्थानीय बासिन्दालाई सहयोग गर्न र कुनै पनि अवाञ्छित गतिविधिबारे सूचना दिन आग्रह गरेको छ ।