रमेश कुमार यादब
पुुुस २३, रौतहट
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका-३ की एकल महिला चनिया देवी प्रहरी ज्यादतीको शिकार बनेकी छन् । घरमा कमाउने अरू कोही सदस्य नभएको कारणले सीमापारीबाट सामान ल्याएर आफ्नो परिवारको जिविका चलाउँदै आएकी चनिया देवीले प्रहरीको दुव्र्यवहारका कारण आफ्नो हात भाँचिएको आरोप लगाएकी छिन् । घटनाको विवरण अनुसार, गत आइतबार चनिया देवी एक बोरा चामल र १० किलो तिल लिएर भारतबाट फर्किरहेकी थिइन् ।
भन्सार कार्यालय नजिकै अटोबाट सामान उतार्दै गर्दा प्रहरी र उनीबीच सामान खोसाखोसको स्थिति सिर्जना भयो । पीडितका अनुसार, उनले आफ्नो सामान खानका लागि ल्याएको भन्दै गुहार गरेकी थिइन्, तर प्रहरीले कुनै पनि प्रकारको सुनवाइ नगरी सामान खोस्न प्रयास गरे । उनले भनिन्, “चामलको बोरा समातेपछि प्रहरीकै खुट्टाले मलाई हानेर लडाए । लड्दा मेरो हात भाँचियो । मैले गुहार गर्दा पनि उनीहरूले कुनै ध्यान दिएनन् ।
“ घटनापछि प्रहरीकै उपस्थितिमा उनलाई नजिकको अस्पतालमा उपचारका लागि पु¥याइएको थियो । चनिया देवीका अनुसार, उपचार गराउँदै गर्दा प्रहरीहरूले उनलाई कसैलाई पनि घटनाबारे नबताउन धम्की दिएका थिए । “उनीहरूले भने, यो कुरा कसैलाई भन्यौ भने अबदेखि तिमीलाई कारोबार गर्न नै दिइनेछैन,“ उनले प्रहरीको धम्कीप्रति आक्रोश व्यक्त गरिन् । चनिया देवी सीमावर्ती क्षेत्रका धेरै महिलाहरूजस्तै आफ्नो परिवारको पेट पाल्न साना व्यापारिक सामानहरू सीमापारिबाट ल्याएर स्थानीय बजारमा बेच्दै आएकी थिइन् ।
“म एक्लो छु । कमाउने कोही छैन । परिवार पाल्नकै लागि यस्तो गर्न बाध्य छु,“ उनले आफ्नो पीडा सुनाइन् । श्रीमानको मृत्युपछि उनले सीमापारीबाट सानो व्यापार गरी गुजारा चलाउँदै आएकी थिइन्। यो घटना उनले सामना गरिरहेको कठिन जीवनमा अर्को ठूलो संकट बनेको छ । घटनापछि प्रहरी प्रशासनले यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
यद्यपि, महिला अधिकारकर्मीहरूले यस घटनालाई गम्भीर रूपमा लिँदै तत्काल छानबिनको माग गरेका छन् । घटनाको विषयमा देवाही गोनाही नगरपालिकाका स्थानीय बासिन्दाहरूले पनि चनिया देवीप्रति सहानुभूति प्रकट गर्दै प्रहरीको गैरजिम्मेवार रवैयाको विरोध गरेका छन् । उनीहरूले प्रहरीको यस प्रकारको ज्यादतीको छानबिन गर्न माग गरेका छन् ।
चनिया देवीले न्यायको लागि सम्बन्धित निकायसँग गुहार मागिरहेकी छिन् ।यो घटनाले सीमावर्ती क्षेत्रमा गरिब महिला व्यापारीहरूले भोग्नुपर्ने समस्यालाई पुनः सतहमा ल्याएको छ । सानोतिनो सामान ल्याएर परिवार पाल्ने प्रयास गर्ने महिलाहरूलाई भन्सार प्रशासन र प्रहरीबाट निरन्तर शोषण हुने गरेको स्थानीयहरूले बताएका छन् । चनिया देवीलाई न्याय दिलाउन स्थानीय अधिकारकर्मीहरूले पहल गर्ने घोषणा गरेका छन् । यस घटनाले प्रहरी प्रशासनप्रति प्रश्न खडा गरेको छ । के न्याय पाउने आशामा बसेकी चनिया देवीलाई उचित न्याय मिल्ला त? यसबारे सबैको चासो रहनेछ ।