रमेश कुमार यादब
पुस २३ गते ।
मंगलबार बिहान ६ः५० बजे नेपालमा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ। राष्टिूय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपाल(चीन सीमा क्षेत्र रहेको र यसको परिमाण ७ म्याग्निच्यूड मापन गरिएको छ। भूकम्पले नेपालका विभिन्न भाग, विशेष गरी मधेश प्रदेश, रौतहट लगायतका क्षेत्रमा ठूलो प्रभाव पारेको छ। भूकम्पको धक्का बिहान सुतिरहेको समयमा महसुस गरिएको हुँदा सर्वसाधारण त्रसित भएर घरबाहिर दौडेर निस्किएका थिए। रौतहट र आसपासका क्षेत्रमा भूकम्पको झट्का लामो समयसम्म महसुस गरिएकोले मानिसहरु ठूलो डरले सडकमा भेला भएका थिए।
बिहानको समयमा मानिसहरु सामान्यतया घरभित्रै सुतिरहेको हुँदा भूकम्पले अचानक हल्लाउँदा उनीहरुमा त्रासको माहोल छायो । मधेश प्रदेशको रौतहट, सर्लाही, धनुषा लगायतका क्षेत्रमा मानिसहरुले पटकपटक भूकम्पको धक्का महसुस गरेका छन्। भूकम्पले घरहरु हल्लाएकोले सर्वसाधारणले क्षतिप्रति चिन्ता व्यक्त गरेका छन्। यद्यपि, हालसम्म कुनै ठूलो मानवीय क्षति वा घरमा ठूलो क्षतिको रिपोर्ट प्राप्त भएको छैन ।
भूकम्पको धक्का नेपालसहित छिमेकी देशहरु भारत, बंगलादेश र भुटानमा समेत महसुस गरिएको छ। भारतको बिहार र उत्तर प्रदेशका क्षेत्रमा पनि यो भूकम्पको प्रभाव देखिएको छ। चीनको सीमा नजिकका भूभागहरुमा पनि भूकम्पको असर परेको छ । पछिल्लो केही महिनायता नेपालका विभिन्न क्षेत्रमा ४ म्याग्निच्यूडभन्दा माथिका भूकम्प लगातार गइरहेका छन्। विशेषगरी पश्चिम नेपालमा यसअघि पनि साना ठूला भूकम्पका झट्काहरु महसुस गरिएका थिए। यसले गर्दा भूकम्पको सम्भावित खतरा र तयारीका विषयमा नयाँ प्रश्न खडा गरेको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पको जोखिम न्यून गर्न र सम्भावित क्षति रोक्न थप तयारी गर्नुपर्ने बताउनु भएको छ। यसअघि पनि भूकम्पपछिका अनुभवले गर्दा सर्वसाधारणलाई सावधानी अपनाउन बारम्बार आग्रह गरिएको थियो । हालसम्म कुनै ठूलो क्षतिको विवरण प्राप्त नभए पनि, मानिसहरु त्रसित अवस्थामा छन् र थप परकम्पको सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।