पवन कुमार उपाध्याय
रौतहट, १ माघ । रौतहटको भुसहा स्थित लमहा खोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टर चालक वृन्दावन नगरपालिका–८ बहुअरी बस्ने अन्दाजी २६ वर्षीय संजय साह रहेको प्रहरीले पुष्टि गरेको छ । बृन्दावन नगरपालिका–९ भुसहाबाट महम्मदपुर जाँदै गरेको ट्याक्टर लमहा खोलामा अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खस्दा उक्त दुर्घटना भएको हो ।
प्रहरीका अनुसार, सोमबार करिब १२:०० बजे ट्याक्टरलाई लिएर भुसहाबाट महम्मदपुर जादै गरेको क्रममा चालकले नियन्त्रण गुमाउँदा ट्याक्टर पल्टिएको थियो । ट्याक्टर चलिरहेको बेला आफैं एक्कासी खोलातिर मोडिदा ब्रेक फेल हुदा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनाको जानकारी प्राप्त भएलगत्तै घटनास्थलमा इप्रका गरुडाका प्रहरी निरिक्षक बिनोद श्रेष्ठको टोली पुगेका थिए। मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ ।
घटना विषयमा थप अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । स्थानीय बासिन्दाले लमहा खोलाको क्षेत्र जोखिमपूर्ण रहेको र पूर्वाधार विकासको अभावमा यस प्रकारका दुर्घटना बारम्बार हुने गरेको बताएका छन् ।
सडक र पुलको उचित व्यवस्थापनको अभावमा स्थानीयलाई सधैं जोखिम मोल्नुपर्ने अवस्था रहेको उनीहरूले गुनासो गरेका छन् । यस घटनाले पुनः स्थानीय सरकार र सरोकारवालाहरूलाई यस्ता स्थानमा सुरक्षित यातायातको व्यवस्था गर्न आवश्यक रहेको कुरामा सचेत गराएको छ ।