पवन कुमार उपाध्याय
माघ ०२, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा नं. ४, गरुडा स्थित रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. को कार्यालयको बुधबार विधिवत रूपमा उद्घाटन गरिएको छ । एक विशेष कार्यक्रमका बीच संस्थाको अध्यक्ष रामजि साहको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल प्रमुख अतिथि रहनु भएको थियो ।उद्घाटन कार्यक्रममा नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले सहकारी संस्थाहरूले आमजनतालाई आर्थिक सेवामा सहजता प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
वहाँले भन्नुभयो, “सहकारी संस्था भनेको जनता र सरकारबीचको पुल हो । यसले समुदायमा वित्तीय सेवा उपलब्ध गराउनुका साथै आर्थिक सशक्तिकरणमा योगदान पुर्याउँछ । कार्यालय उद्घाटनसँगै सहकारी संस्थाको कामकाजमा सहजता आउनेछ र सेवा प्रभावकारी बनाउने विश्वास मैले लिएको छु ।”नगर प्रमुख जैसवालले यस संस्थाको नयाँ कार्यालय स्थापनापछि सेवा प्रभावकारी बन्ने र प्रक्रियागत हिसाबले काम गर्न थप सहज हुने धारणा व्यक्त गर्नु भएको थियो । यसअघि संस्था अरू ठाउँबाट सञ्चालन भइरहे पनि कार्यालयको अभावका कारण कामकाजमा समस्या भइरहेको तथ्य वहाँले प्रस्ट पार्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता गरिरहनु भएका संस्थाका अध्यक्ष रामजि साहले उद्घाटन कार्यक्रममा सहभागी भएका सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै संस्थाको विस्तारित योजनाहरूको बारेमा जानकारी दिनु भएको थियो । वहाँले भने संस्थाले सदस्यहरूलाई वित्तीय सेवामा सशक्त बनाउँदै उनीहरूको जीवनस्तर सुधार गर्न लक्ष्य राखेको बताउनु भएको थियो । वहाँका अनुसार संस्थाले सदस्यहरूलाई ऋण सेवा, बचत योजना र अन्य वित्तीय सुविधाहरू उपलब्ध गराइरहेको छ । त्यति मात्र नभएर आउदो दिनमा जनताहरुको सहजताको लागी समान्य कागजातको अधारमा लगानी अर्थात ऋण प्रदान गर्ने बताउनु भयो ।
साथै चाडैभन्दा चाडै यस संस्थाको आफ्नो जग्गा सहित भवन हुने अध्यक्ष साहले बताउनु भएको थियो ।यस संस्था बिशेष गरी ब्यावासायीहरुको प्राथमिकतामा राखेर फिक्स डिपोजिटको ब्यवस्था गरि लगानी गर्ने बताउनु भएको थियो ।अध्यक्ष साहले भने, “नयाँ कार्यालयको स्थापना भएसँगै सेवा दिन सहज हुनेछ । हामीले भविष्यमा थप आधुनिक सेवाहरू उपलब्ध गराउने योजना बनाएका छौं । यसले हाम्रो समुदायमा आर्थिक सुदृढता ल्याउनेछ ।” दोस्रो पटक सर्वसहमतबाट अध्यक्ष पदमा चयन हुँदा पहिलो आफ्नो कार्यालय सन्चालन गरेको र यस संस्थाको जग्गा खरिद गरि भवन बनाउने योजना रहेको अध्यक्ष साहले बताउनु भएको थियो ।
कार्यक्रममा सहकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरू, स्थानीय जनप्रतिनिधिहरू, व्यवसायीहरू, पत्रकारहरू, र स्थानीय बासिन्दाको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न वक्ताहरूले सहकारीको महत्त्व, संस्थाको उद्देश्य र समुदायलाई दिने योगदानको बारेमा आफ्नो धारणा राखेका थिए ।संस्थाले आगामी दिनमा डिजिटल सेवा विस्तार, सदस्यहरूका लागि तालिम कार्यक्रमहरू, र समुदायका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने योजना बनाएको छ ।
नयाँ कार्यालय उद्घाटनसँगै संस्था अझ प्रभावकारी रूपमा सेवा दिन सक्षम हुने विश्वास कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका छन् ।सहकारी संस्थाले आफ्नो कार्यालय नयाँ भवनमा सार्नुभएकोले अबदेखि सेवा लिन आउने ग्राहकहरूलाई थप सहजता हुने अपेक्षा गरिएको छ ।