रमेश कुमार यादब
माघ ०४, रौतहट
जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा फरार रहेका ४० जनालाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकिएका फरार प्रतिवादीहरूलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि रौतहट जिल्ला अदालतमा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार पक्राउ परेकामध्ये कर्तव्य ज्यान, किर्ते जालसाजी, बिगो जरिवाना, गाली बेईज्जती, डाँका, कुटपिट, आपराधिक उपद्रव र चोरी जस्ता विभिन्न अपराधमा संलग्न व्यक्तिहरू रहेका छन् ।
ती व्यक्तिहरूमध्ये केहीलाई अदालतले २० वर्षसम्मको जेल सजाय तोकेको थियो । प्रहरीको विशेष टोलीले विभिन्न स्थानमा गुप्त सूचनाको आधारमा खोजतलास गरेर फरार अभियुक्तहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीहरूले लामो समयदेखि फरार रहेका अभियुक्तहरूको खोजीमा विशेष अभियान सञ्चालन गर्दै आएका थिए । पक्राउ परेका व्यक्तिहरूलाई रौतहट जिल्ला अदालतमा प्रस्तुत गरी कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।
यस क्रममा उनीहरूले विभिन्न स्थानमा खोजतलास गर्दै ४० जनालाई पक्राउ गर्न सफल भएका हुन् । पक्राउ परेकाहरूलाई कानूनी प्रकृया पूरा गरी अदालतमा बुझाइएको छ । पक्राउ परेका अभियुक्तहरूमध्ये कतिपयले कर्तव्य ज्यानजस्ता गम्भीर अपराधमा संलग्न रहेको तथा अदालतबाट कैद सजाय सुनाइएपछि फरार भएका थिए ।
त्यस्तै, किर्ते गरी ठगी गर्ने, गाली बेईज्जती गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने, चोरी गर्ने, र डाँका लगायतका घटनामा संलग्न अभियुक्तहरू पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार अपराधीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन निरन्तर प्रयास जारी राख्ने जनाएको छ। साथै, प्रहरीले नागरिकहरूलाई शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न र कुनै पनि आपराधिक गतिविधिबारे प्रहरीलाई जानकारी गराउन अपिल गरेको छ । यो कदमले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र कानूनी राज्यको स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ