रमेश कुमार यादब
माघ ०४, रौतहट
भन्सार छली गरी चोरी पैठारी गरेर ल्याइएको कपडा र अटो रिक्सा नियन्त्रणमा लिएको छ । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका–५ झुन्खुनवा चौकस्थितमा चेकजाँचको क्रममा प्रहरीले अवैध रुपमा भारतबाट भन्सार छली गरी चोरी पैठारी गरिएको कपडा र अटो रिक्सा नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले झुन्खुनवा चोकस्थित चेकजाँचको क्रममा मधेश प्र.०३–००१ ह ३२०२ नम्बरको अटो रिक्सा रोकी जाँच गर्दा उक्त सामग्री फेला पारेको हो ।चेकजाँचका क्रममा अटो रिक्सा भित्र भन्सार नतिरी भारतबाट चोरी पैठारी गरी ल्याइएको विभिन्न किसिमका लत्ता कपडाहरू फेला परेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार, बरामद गरिएको कपडाको अनुमानित मूल्य १ लाख ८७ हजार ६६० रुपैयाँ रहेको छ । साथै, उक्त कपडा बोकेको अटो रिक्सा पनि नियन्त्रणमा लिइएको छ, जसको अनुमानित मूल्य ५ लाख रुपैयाँ रहेको छ । यसरी कपडा र रिक्साको संयुक्त मूल्य ६ लाख ८७ हजार ६६० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका सामग्रीहरूसहित अटो रिक्सा चालक ईशनाथ नगरपालिका–२ का शम्भु साह तेलीलाई नियन्त्रणमा लिइएको छ । बरामद सामग्री र चालकलाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार, भारतसँगको खुला सिमाना प्रयोग गरेर चोरी पैठारीको घटनामा कमी ल्याउन चेकजाँचलाई थप कडा बनाइएको छ । प्रहरीले यस किसिमका गैरकानूनी गतिविधि नियन्त्रणका लागि निरन्तर रूपमा गस्ती र चेकजाँच अभियान जारी राख्ने बताएको छ ।स्थानीयहरूले भारतबाट ल्याइने चोरी पैठारीका सामानहरूले नेपालको स्थानीय बजार र राजस्व प्रणालीमा नकारात्मक प्रभाव पारेको भन्दै यस्तो कदमको सराहना गरेका छन् ।
साथै गौर भन्सार अगाडी नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयको कर्मचारीको यतिका कडाई चेकजाँचको बावजुद पनि समान त्यहाँ नसमातिनु र सो समान झुनखुन्वा चौकमा प्रहरीले समातिनु गौर भन्सार कार्यालयका कर्मचारीको मिलोमतो रहेको शंका उब्जिन थालेका स्थानियहरुको बुझाईरहेको छ । समान चोरी पैठारी नियन्त्रण गर्न प्रहरीले अझ सक्रिय भूमिका खेल्नुपर्ने उनीहरूको माग समेत रहेको छ ।