वर्तमानकाल सम्वाददाता
माघ ०६ गते ।
चर्चित बलिउड अभिनेता सैफ अली खानलाई बुधबार उनको फ्ल्याटमा चोर्ने नियतले घुसेका एक व्यक्तिले छुरा प्रहार गरी घाइते बनाएका थिए । ढाडमा भएको चक्कु प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । घाँटी, ढाड र हात बाहेक शरीरका अन्य भागमा पनि चोट लागेको छ । घटनापछि अभिनेतालाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरियो । आकस्मात अपरेसन गर्नुप¥यो ।
अपरेसन कयौँ घण्टासम्म चल्यो । अहिले अभिनेताको अवस्था ठिक रहेको र स्वास्थ्य लाभ भइरहेको डाक्टरहरूले बताएका छन् । यसैबिच, सैफको मेडिकल बीमा दाबी पत्र लीक भएको छ । पत्रअनुसार उनले आफ्नो उपचारको लागि ३५ लाख ९५ हजार भारुको बीमा दाबी गरेका छन् । सैफको स्वास्थ्य बीमा दाबी फारम माइक्रोब्लगिङ प्लेटफर्म एक्सबाट बाहिरिएको छ । सैफ अली खानले निवा बुपा पोलिसी लिएका थिए ।
कम्पनीले यसमध्ये २५ लाख भारु स्वीकृत गरेको छ । दाबीमा अभिनेता जनवरी २१ मा अस्पतालबाट डिस्चार्ज हुने उल्लेख गरिएको छ । सैफमाथिको आक्रमण अत्यन्तै चिन्ताजनक भएको र आफूले उनको शीघ्र र सुरक्षित स्वास्थ्य लाभको कामना गरेको विज्ञप्तिमा निवा बुपाले भनेको छ । बलिउड अभिनेता सैफ अलि खानमाथि बिहीबार चक्कु प्रहार गर्ने व्यक्तिबारे प्रहरीले एक पछि अर्को खुलासाहरू गरिरहेका छन् ।
प्रहरीले पत्रकार सम्मेलनमा आइतबार बिहान बताएअनुसार आरोपीको कनेक्सन बङ्गलादेशसँग हुन सक्ने बताएको छ ।
आरोपी चोरी गर्ने उद्देश्यले अभिनेताको घरमा छिरेको भनिएको छ । आरोपीको नाम मोहम्मद
शरीफुल इस्लाम शहजाद भएको बताइएको छ । आरोपी अवैध रूपमा भारत छिरेको अनि यहाँ आएपछि नाम फेरेको प्रहरीले बताएको छ ।
मुम्बई प्रहरीको जोन ९ का डीसीपी दीक्षित गेडामका अनुसार ५–६ महिना अघि मात्रै मुम्बई आएका आरोपी हाउसकिपिङ एजेन्सीमा काम गर्थे आरोपीको उमेर ३० वर्ष भनिएको छ । अभियुक्तलाई अदालतमा पेश गरी हिरासतमा लिने प्रहरीले बताएको छ । सैफ अली खानमाथि चक्कु प्रहारको मामिला मुम्बई बान्द्रा प्रहरी स्टेशनले हेरिरहेको छ ।