वर्तमानकाल सम्वाददाता
माघ ०६ गते ।
महिनावारी भएको कति दिनपछि गर्भ बस्ने सम्भावना हुन्छ ? यो जिज्ञासा अस्पताल आउने धेरै दम्पतीको हुन्छ ।महिनावारी चक्रको विभिन्न चरणले नै महिलाको शरीरमा हुने जैविक परिवर्तन र गर्भधारणको सम्भावना निर्धारण गर्छ । महिना चक्र सामान्यतया २८ दिनको हुन्छ । कसैको बढीमा ३५ दिनको पनि हुनसक्छ । यही मितिलाई नै आधार मानेर गर्भ रहने समय कहिले उच्च छ भनेर अनुमान गर्न सकिन्छ ।
कति दिनपछि गर्भ रहन्छ त ?
सामान्यतया महिनावारी भएको १४ दिनपछि यौन सम्बन्ध राखेमा गर्भावस्थाको सम्भावना धेरै हदसम्म बढ्छ । किनभने अण्डाशयबाट अण्डा निस्कने सही समय महिनावारी चक्र समाप्त भएको १४ दिनपछि हो । गर्भ रहन वीर्यको मिलन अण्डासँग हुन जरुरी छ ।अण्डाशयबाट निस्कने अण्डा १२ देखि २४ घण्टासम्म बाँच्न सक्छ । सो समयभित्र यौन सम्पर्क भएमा शुक्रकीटले यसलाई निषेचन गर्छ, जसले गर्दा गर्भावस्था हुन्छ । महिलाको शरीरमा वीर्य तीन दिनसम्म जीवित रहन्छ । यस्तोमा अण्डा ननिस्किएको दुई दिनअघि यौन सम्बन्ध राखे पनि गर्भ रहने सम्भावना बढी हुन्छ ।
गर्भ बस्ने प्रक्रिया
महिनावारीपछि प्रत्येक महिना महिलाको अण्डाशयबाट एउटा अण्डा निस्किन्छ । अण्डा उत्पादन भइरहेको समयमा यौन सम्पर्क हुँदा शुक्रकीटले अण्डालाई निषेचन गर्न सफल हुनसक्छ । र, निषेचित अण्डा पाठेघरमा पुग्छ, तब गर्भ रहन्छ ।यो प्रक्रियाका लागि शुक्रकीट योनी र पाठेघर हुँदै डिम्ब नलीमा पुग्नु आवश्यक छ । निषेचन प्रक्रियापछि मात्र अण्डा कोषले डिम्बबाहिनी नलीको मद्दतले अण्डाशय छोड्छ । र, आफ्नो सही स्थान अर्थात् गर्भाशयमा पुग्छ ।
गर्भधारणका लागि सही समय
यस्तो कुनै समय हुँदैन, जुन गर्भावस्थाका लागि सुरक्षित भन्न सकियोस् । महिनावारीको पहिलो दिनदेखि दशौं दिनसम्म गर्भधारणको सम्भावना धेरै कम हुन्छ । १२ देखि १८ दिनको अवधिमा भने गर्भधारणको सम्भावना उच्च रहन्छ ।
अण्डा निस्किने समय पत्ता लगाउने एप कति विश्वसनीय ?
याद गर्न सहज होस् भन्ने हिसाबले केही ओभुलेसन एपहरू पनि बनेका छन् । संसारभर ४०० भन्दा बढी प्रजनन एपहरू प्रयोग भइरहेका छन् । यी एपहरूलाई ‘फ्यामटेक’ नाम दिइएको छ । ती एप मार्फत ओभुलेसन कहिले हुन्छ भनेर थाहा पाउन सकिन्छ ।एपमा महिनावारीको दिन रेकर्ड गर्ने क्यालेन्डर हुन्छ ।
जसको मद्दतले महिलालाई डिम्बाशय निस्कने समय थाहा पाउन सजिलो हुन्छ । यी एपहरू कति सही छन् भन्ने बारेमा धेरै प्रश्न उठेका छन् । ती एपहरुमा भएका अध्ययनले मात्र ४२.७ प्रतिशत एपले मात्र अण्डाशय निस्किने मिति बताउन सक्षम रहेको उल्लेख गरेको छ । अस्ट्रेलियाका अनुसन्धानकर्ताले ३६ वटा प्रजनन् एपहरूको अनुसन्धान गरेकोमा केवल ४२.७ प्रतिशत एपहरूले सही ओभुलेसन मिति बताउन सक्षम रहेको पुष्टि गरेको थियो ।
यही समयमा वाशिङ्टनको जर्जटाउन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ३० वटा एपको अध्ययन गरे । जसमध्ये २४ वटा एपले गलत मिति दिएका थिए । यी एपको पछि लाग्नुभन्दा गर्भयोजना बनाइरहेका दम्पतीले क्यालेन्डरमा नै महिनावारी मिति चिन्ह बनाई दिन गन्न सकिन्छ । दिन गनेर अण्डा रिलिज हुने दिन वरपर शारीरिक सम्पर्क गर्दा गर्भ बस्ने सम्भावना उच्च रहन्छ ।
अण्डा निस्किने समयमा महिलामा यौन इच्छा बढ्छ
अधिकांश महिलालाई अण्डा निस्किने केही दिन अघि शारीरिक सम्बन्ध बनाउने इच्छा तीव्र हुनसक्छ । वास्तवमा महिलामा एस्ट्रोजन हर्मोनको स्तर अण्डा निस्कने केही दिनअघि तीव्र रुपमा बढ्छ । यही हर्मोन हो, जो यौन इच्छा बढाउनमा भूमिका खेल्छ । यो हर्मोनको स्तर बढ्नाले महिलामा सम्बन्ध बनाउने इच्छा अन्य समयको भन्दा बढी हुन्छ । यसबारे क्यानडाको एक विश्वविद्यालयमा अध्ययन नै भएको छ ।
सो अध्ययनअनुसार अण्डा निस्किने तीन दिन पहिला महिला एक दिनमा औैसतमा १.३ पटक सोच्ने गर्छिन् । जबकि अन्य समयमा दिनमा औसतमा ०.७७ पटक सोच्छिन् ।त्यसतै विवाहपछि महिलालाई आमा बन्न धेरै दबाब रहन्छ । यद्यपि, यो अवस्था विस्तारै बदलिंदो छ । अहिलेका सचेत विवाहित जोडी विवाहसँग जोडिएको सुविधा र समय हेरेर गर्भावस्थाको योजना बनाउने अभ्यास भइरहेको देख्न सकिन्छ ।
तर कहिलेकाहीं लगातार प्रयास गर्दा पनि महिलाले गर्भधारण गर्न सक्दिनन् । यो अवधिमा निकटका आफन्त तथा साथीभाइदेखि गुगलसम्म हरेक खालको सुझावअनुसार प्रयास गरिन सक्छ । तर समस्या के छ भने तीमध्ये सबै सुझाव पूर्ण सत्य र प्रभावकारी नहुन सक्छ । त्यस्ता सुझावमध्ये एक हो, यौन सम्बन्ध राख्ने बित्तिकै सुतेमा बच्चा छिटो बस्छ ।
वास्तवमै यस्तो सम्भव छ ?
यौन सम्बन्ध राखेपछि तुरुन्त सुतेमा गर्भधारण छिटो हुन्छ भन्ने कुरामा अहिलेसम्म कुनै प्रमाण फेला परिसकेको छैन । वास्तवमा जुनसुकै विधि अपनाएर यौन सम्पर्क गरे पनि वीर्य पाठेघर हुँदै अण्डवाहिनी नलीसम्म पुग्न दुई मिनेट लाग्छ । योनीमा स्खलन हुने बित्तिकै शुक्राणु दुईदेखि पाँच मिनेटभित्र गर्भधारण प्रक्रियाका लागि जानुपर्ने स्थानमा पुगिसक्छ । यसको मतलब वीर्य ओछयानबाट उठ्नुभन्दा पहिले नै डिम्बाशयमा पुग्न सक्छ ।