वर्तमानकाल सम्वादाता
माघ ०६ गते ।
रौतहटका सबै ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरूले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो अधिकार र सुविधा सुनिश्चित गर्न माग गरेका छन्। ज्ञापनपत्रमा निजी मेडिकल कलेज र स्वास्थ्य संस्थाहरूले नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूलाई पारिश्रमिक लगायतका सुविधामा अन्याय गरेको उल्लेख छ। नेपाल सरकारको सचिवस्तरीय बैठकले २०८१ मंसिर २७ गते निर्णय गर्दै निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरूलाई पारिश्रमिक र सुविधासम्बन्धी निर्देशन दिएको भए पनि सो निर्णय कार्यान्वयन नभएको स्वास्थ्यकर्मीहरूको गुनासो छ।
स्वास्थ्यकर्मीहरूले नेपाल सरकारको निर्देशनको पालना नगर्ने निजी स्वास्थ्य संस्थाहरूको व्यवहारप्रति असन्तोष व्यक्त गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको पत्रको कार्यान्वयन नगरिए आफूहरू आन्दोलन गर्न बाध्य हुने स्थिति सिर्जना भएको स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन्। ज्ञापनपत्रमा स्वास्थ्यकर्मीहरूले प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य मन्त्रालयको पत्रको कार्यान्वयन गर्न सहयोग गर्न र आवश्यक निर्देशन दिन आग्रह गरेका छन्।
यससँगै, स्वास्थ्य मन्त्रालयको पत्रको फोटोकपीसमेत प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको छ। स्वास्थ्यकर्मीहरूको यो कदमले निजी स्वास्थ्य संस्थाहरूलाई सरकारको निर्देशन पालना गर्न दवाब सिर्जना गर्ने विश्वास गरिएको छ। प्रमुख जिल्ला अधिकारीले यसबारे चाँडै कदम चाल्ने आश्वासन दिने अपेक्षा गरिएको छ।