रमेश कुमार यादब
माघ ०७, रौतहट
रौतहट जिल्लाको वृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले आफ्नो सहयोगी कार्यशैलीका कारण चौतर्फी प्रशंसा बटुल्न सफल भएका छन् । कुर्मीले आफ्नो कार्यकालमा नगरका विभिन्न समस्याहरू समाधान गर्नुका साथै गरिब, दलित, अति विपन्न वर्ग र गम्भीर रोगबाट पीडित व्यक्तिहरुलाई निरन्तर सहयोग गर्दै आइरहेका छन् । रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं. ६ हर्षाहाका ३४ वर्षीय उपेन्द्र महराको दुबै मिर्गौला विगत तीन वर्षदेखि फेल भएको छ ।
मिर्गौलाको समस्या भएका कारण उनी डायलाइसिसको भरमा आफ्नो जीवन धानिरहेका छन् । यो कठिन परिस्थितिमा नगर प्रमुख बिनोद प्रसाद कुर्मीले महराको उपचारका लागि रु. २५,००० (पच्चिस हजार) को चेक हस्तान्तरण गर्दै आर्थिक सहयोग गरेका छन् । नगर प्रमुख कुर्मीले उक्त आर्थिक सहयोग हस्तान्तरण गर्दै भने, जनताले आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिएकोले, त्यस विश्वासलाई कायम राख्न र जनताको सेवा गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो । सोहि अनुरुप “म मिर्गौला पीडित महराको उपचारका लागि सक्दो सहयोग गर्नेछु ।
समाजका गरिब, विपन्न, र दलित वर्गका व्यक्तिहरूलाई सहयोग गर्नु मेरो दायित्व हो । मानवताको भावनाले नै हाम्रो समाज समृद्ध बन्नेछ ।” महराले विगत तीन वर्षदेखि डायलाइसिस गराइरहेको अवस्थामा उनको उपचारका लागि ठुलो आर्थिक समस्या भइरहेको थियो । यस सहयोगले महरालाई केही राहत दिने अपेक्षा गरिएको छ । नगर प्रमुख कुर्मीले विगतदेखि नै नगर क्षेत्रका विपन्न परिवार, गरिब, दलित, तथा विभिन्न रोगबाट ग्रसित मानिसहरूको उपचार र सहयोगमा सक्रियता देखाउँदै आएका छन् ।
कुर्मीले यसअघि पनि वृन्दावन नगरपालिकाको शिक्षा, स्वास्थ्य, सरसफाइ, तथा रोजगारीका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएका छन् । विशेष गरी गरिब र असहाय वर्गका लागि उनले व्यक्तिगत रूपमा समेत सहयोग गर्दै आएका छन् । स्थानीयबासीले नगर प्रमुख कुर्मीको यो सहृदयतालाई निकै प्रशंसा गर्दै भनेका छन्, “उहाँको नेतृत्वले नगरवासीलाई नयाँ प्रेरणा दिएको छ । यस्ता क्रियाकलापले समाजमा मानवता र एकताको भावना फैलाउँछ ।
” नगर प्रमुख कुर्मीले आगामी दिनमा पनि सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । उनले भने, “नगरवासीको सेवा मेरो पहिलो प्राथमिकता हो । जति सकिन्छ, सहयोग गर्दै जाँउला भन्ने मेरो सोच हो ।” मृगौला पीडित महराका परिवारले पनि सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भनेका छन्, “नगर प्रमुख कुर्मीज्यूको यो सहयोगले हाम्रो परिवारलाई ठूलो राहत दिएको छ । हामी उहाँप्रति अत्यन्त आभारी छौं ।” नगर प्रमुख कुर्मीको यो प्रयासले समाजमा सकारात्मक प्रभाव पारेको छ । अन्य व्यक्तिहरूलाई पनि यस्तो सहयोगी भावना पालना गर्न प्रेरित गरेको छ।