रमेश कुमार यादब
माघ ०८, रौतहट
गरुडा नगरपालिका वार्ड नं. ७ स्थित पिपरिया (दो) मा रहेको माध्यमिक विद्यालयलाई मंगलबार नगरपालिकाले फर्निचर र बिद्यार्थीलाई झोला वितरण गरेको छ । उक्त शैक्षिक सामग्री वितरण कार्यक्रम नगर प्रमुख कन्थमणि प्रसाद जैसवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नगर प्रमुख जैसवालले विद्यालयमा बढ्दो बिद्यार्थी चापलाई ध्यानमा राख्दै शिक्षण गतिविधिमा सहजता प्रदान गर्ने उद्देश्यले २५ थान डेस्क(बेन्च तथा २०० जना बिद्यार्थीलाई पुस्तक र कपी सुरक्षित राख्न झोला
वितरण गरिएको जानकारी दिनुभयो ।
उहाँले शिक्षामा थप सुधार गर्नका लागि नगरपालिकाले निरन्तर प्रयास गर्दै आइरहेको बताउनु भयो । नगर प्रमुखका अनुसार यस अघि नगरपालिकाको मातहतमा रहेका दुई वटा विद्यालयको नाजुक अवस्थालाई सुधार्न करीब १०÷१० लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको छ ।
यी सामग्रीले विद्यालयको भौतिक संरचना र शैक्षिक गतिविधिमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा नगर प्रमुख जैसवालले भने, “गरुडा नगरपालिका शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । शिक्षाको माध्यमबाट नगरवासीलाई सशक्त बनाउन सबै विद्यालयलाई आवश्यक सामग्री उपलब्ध गराउँदै आएका छौं।” उहाँले आगामी दिनमा पनि शैक्षिक क्षेत्र सुधारका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बिद्यार्थी र शिक्षकहरूले शैक्षिक सामग्री पाउँदा खुसी व्यक्त गर्दै नगरपालिकाले शिक्षामा देखाएको प्राथमिकता र समर्थनप्रति धन्यवाद दिएका छन् । यस कार्यले विद्यालयको गुणस्तर सुधार गर्न मात्र नभई बिद्यार्थीको पठनपाठनमा नयाँ उत्साह थपिएको छ । नगरपालिकाले शिक्षालाई अगाडि बढाउन चालू आर्थिक वर्षमा थप बजेट छुट्याउने र सबै वडामा गुणस्तरीय शिक्षाको पहुँच पु¥याउने योजना अघि बढाइ रहेको छ ।
स्थानीय तहले यस्तो पहलमार्फत शैक्षिक पूर्वाधारमा सुधार ल्याउने र गरिब तथा पिछडिएका वर्गका बिद्यार्थीलाई सहयोग पुर्याउने लक्ष्य लिएको छ । यसले गरुडा नगरपालिकाको शिक्षामा सुधार गर्ने प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।