रमेश कुमार यादब
माघ ०९, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिकामा बिगत केही हप्तादेखि बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले सिरक र कम्बल वितरण कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । नगर प्रमुख जैसवालले विशेषगरी जाडोबाट सर्वाधिक प्रभावित विपन्न, वृद्धवृद्धा, एकल महिला, अपांगता भएका व्यक्ति, र असहाय नागरिकलाई प्राथमिकता दिँदै सिरक तथा कम्बल वितरण गरिरहेका छन् । बुधबार, गरुडा नगरपालिकाको वार्ड नं. ४ गरुडा टोल र वार्ड नं. २ गेडीगुठीमा आयोजना गरिएको कार्यक्रममा ३२० जना अति विपन्न नागरिकलाई सिरक वितरण गरिएको हो ।
नगर प्रमुख जैसवालले कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो, “मेरो उद्देश्य यो छ कि मेरो नगरको कुनै पनि नागरिकले चिसोका कारण अकालमै ज्यान गुमाउनु नपरोस् । यसैले चिसोबाट जोगिनका लागि यो सिरक वितरण कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।” नगरपालिकाको तथ्यांकअनुसार, यसअघि विभिन्न वार्डहरूमा गरी १,३०० थान कम्बल वितरण भइसकेको छ । सिरक र कम्बल वितरणमात्र नभई, नगरपालिकाले चिसोबाट जोगाउन सार्वजनिक स्थानहरूमा दाउरा वितरण कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । नगर प्रमुखले विशेषगरी विद्यालय, वृद्धाश्रम, र सार्वजनिक चोकजस्ता क्षेत्रमा दाउरा वितरण गरेर सर्वसाधारणलाई चिसोबाट जोगिन सघाउने काम गरिरहेको बताए ।
साथै, चिसोका कारण दैनिक जनजीवन कष्टकर बनिरहेका बेला यस्तो सहायताले स्थानीय नागरिकलाई केही हदसम्म राहत मिलेको स्थानीयको भनाइ छ । यस कार्यक्रममा नगरवासीहरूले नगर प्रमुखको प्रयासको प्रशंसा गर्दै, विपन्न तथा असहाय जनताको हेरचाह गर्ने नगरपालिकाको यो कदम उदाहरणीय रहेको बताएका छन् ।
नगर प्रमुख जैसवालले आगामी दिनमा पनि यस्ता राहत कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको छ । गरुडा नगरपालिकाले चिसोको समयमा गरिब तथा असहाय वर्गका लागि न्यानो कपडाको व्यवस्था गर्नुका साथै, स्थानीय बजार र सार्वजनिक स्थलहरूमा सामुदायिक दाउरा वितरण केन्द्र स्थापना गरेको छ ।
जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै चिसोबाट हुने सम्भावित रोगको रोकथामका लागि स्थानीय स्वास्थ्य चौकीमार्फत जनचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी समेत भइरहेको नगरपालिकाले जनाएको छ । यस प्रकारका राहत कार्यक्रमले गरिब तथा विपन्न वर्गको जीवनमा सकारात्मक प्रभाव पारेको छ भने यसले सामाजिक सद्भावलाई पनि मजबुत बनाएको छ


