रमेश कुमार यादब
माघ ०९, रौतहट
लगातार तिन हप्तादेखि बढ्दै गएको चिसोका कारण जनजीवन कष्टकर बनेको रौतहट जिल्लामा स्थानीय तहले राहतको पहल थालेको छ । सोहि अनुरुप रौतहट बृन्दावन नगरपालिकाको वार्ड नं. ३ बिश्रामपुरमा शीतलहरका कारण बढ्दै गएको चिसोले जनजीवन प्रभावित भएपछि वडाअध्यक्ष हरिनारायण साहको नेतृत्वमा एक कार्यक्रमको आयोजना गरी गरिब, विपन्न, दलित तथा एकल महिलाहरुलाई सिरक वितरण गरिएको छ ।

चिसोका कारण विशेषगरी दलित, गरिब, बिपन्न, र एकल महिलाहरू कठ्याङ्ग्रिएको अवस्थालाई ध्यानमा राख्दै वडा नं. ३ का वडाअध्यक्ष साहले आफ्नो वडाका २ सय व्यक्तिहरूलाई सिरक वितरण गरेका हुन् । चिसोका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेको अवस्थामा, वडाअध्यक्ष साहले आफ्ना वार्डका नागरिकहरूको समस्यालाई ध्यानमा राख्दै यो कदम चालेका हुन् ।
वितरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष साहले चिसो मौसमका कारण मानिसहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले यस्तो राहत कार्यक्रम आयोजना गरिएको बताए ।

उनले भने, “शीतलहरको प्रकोपबाट वडावासीलाई जोगाउन सकेसम्म सहयोग गर्ने प्रयास गरेका छौं । “चिसोले जनताको अवस्था दयनीय भएको छ । यस्तो समयमा सबैलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो । यसले राति सुत्नमा केही सहजता प्रदान गर्ने विश्वास लिएका छौं ।“ कार्यक्रममा सिरक प्राप्त गरेका स्थानीयहरू निकै खुसी देखिन्थे । ७५ वर्षीय हुसेनी साह कानुले खुसी व्यक्त गर्दै भने, “हामीजस्ता गरिबका लागि यो ठूलो राहत हो ।

अब राति चिसोले सुत्न समस्या हुने छैन । यसअघि चिसोका कारण निदाउन समस्या भइरहेको थियो । वडाअध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उनले भने । “ वडाअध्यक्ष साहले आगामी दिनमा पनि यस्तै सामाजिक सहयोगका कार्यक्रम जारी राख्ने प्रतिवद्धता जनाए । त्यति मात्र नभएर आफू सधैं जनताको दुःखसुखमा साथ दिने प्रतिबद्धता जनाउँदै भने, “वार्डका हरेक नागरिकको समस्या समाधान गर्न म सधैं तत्पर छु ।
कार्यक्रमका क्रममा सोहि वार्डको वडासदस्य बिरेन्द्र प्रसाद यादब, वडासदस्य लगन राउत बरैई, हरेन्द्र प्रसाद यादब, ईन्द्रजित यादब ,अनिरुद्ध यादब, बिनोद यादब , राजेश यादब, जयराम साह लगायत वडाका विभिन्न समुदायका व्यक्तिहरूको उपस्थिति थियो । सिरक वितरण कार्यले बिश्रामपुरका स्थानीयहरूलाई चिसोबाट केही हदसम्म राहत मिलेको र यो प्रयासले अन्य वडाहरूमा पनि उदाहरण बन्न सक्ने विश्वास व्यक्त गरिएको छ ।

रौतहट जिल्लामा शीतलहरको कारण मानिसहरूले बिहानदेखि बेलुकीसम्म घरभित्रै बसेर समय बिताउनु परेको छ । घाम देख्न नसकिएको र चिसो बढेकोले बालबालिका, वृद्धवृद्धा, र दैनिक ज्याला मजदुरी गर्ने मानिसहरू बढी प्रभावित भएका छन् । यस्ता
राहत कार्यक्रमले जाडोबाट पीडित जनतालाई ठूलो राहत दिने विश्वास लिइएको छ ।


