रौशन कुमार चौधरी
माघ १०,रौतहट
रौतहटको कटहरिया नगरपालिकामा लगाइएको ताल्चा अन्ततः खोलिएको छ । बिहीबार नगरपालिकामा ताल्चा खोल्ने पक्ष र खोल्ने नदिने पक्षबीच विवाद उत्कर्षमा पुगेपछि स्थिति तनावपूर्ण बनेको थियो । नगरपालिकामा करिब एक महिनादेखि जारी ताल्चा बन्दी अन्त्य गर्ने क्रममा बिहीबार सर्वपक्षीय बैठक बसेपछि दुवै पक्षबीच सहमति जुटाएर ताल्चा खोलिएको हो । नगरपालिकामा झन्डै एक महिनाअघि नगर उपप्रमुखको नेतृत्वमा विभिन्न मागहरूसहित ताल्चा लगाइएको थियो ।
ताल्चा खोल्ने पक्ष र खोल्न नदिने पक्षबीच विवाद झनै चर्किँदै गएपछि झडपको अवस्था सिर्जना भएको थियो । विवाद थप चर्किन नदिन र समस्या समाधान गर्न सर्वपक्षीय बैठक आयोजना गरिएको थियो । उपप्रमुख र उनका समर्थकका केहि वडाअध्यक्षहरूले नगरपालिकाको कामकाजलाई व्यवस्थित गर्न, पारदर्शी बनाउन, र पुराना विवादास्पद निर्णयहरूमाथि पुनः छलफल गर्नुपर्ने माग राख्दै ताला लगाएका थिए । नगर प्रमुख अजय प्रकाश जैसवालका अनुसार बैठकले केही मुख्य निर्णयहरू गर्दै दुवै पक्षलाई सहमतिमा ल्याएको छ ।
बिहीबार बसेको सर्वपक्षीय बैठकमा दुबै पक्षका प्रतिनिधिहरूबीच गम्भीर छलफल भएको थियो । बैठकमा नयाँ प्रमुख प्रशासकीय अधिकृतले पदभार ग्रहण गरेपछि नगरपालिकाको बोर्ड बैठक बोलाउने र मंसिर २० गतेको निर्णयमाथि पुनः छलफल गरिने सहमति भएको थियो । यस सहमतिको आधारमा ताल्चा लगाईएको उपमेयर पक्ष र वडाअध्यक्ष सरफलाल गुप्ताले संयुतm रुपमा ताल्चा खोलिएको नगर प्रमुख अजय प्रकाश जैसवालले जानकारी दिए । नगर प्रमुख जैसवालले भने मेरो काम देखेर केहि जनप्रतिनिधिहरुको होस उडन थालेपछि मलाई पछाडी पार्न बिभिन्न जालझोल गर्न थालेका बताउनु भयो ।
पत्रकारसंग कुराकानी गर्दै भने नगरपालिकामा कुनै प्रकारको भ्रष्टाचारी र घोटाल भएको छ भने त्यसता कुनै पनि कुरा नरहेको पनि स्पष्ट पार्नु भएको थियो । निर्वाचित जनप्रतिनिधिहरु अरुको उक्साहटमा आएर ताल्चा लगाउने काम गरिरहेको बताउदै, अहिले आएर फेरी समस्याको समाधान भएपछि ताल्चा खोलिएको नगर प्रमुख जैसवालले बताउनु भयो । स्थानियवासीले ताल्चा खुलाइएपछि कामकाज सहज हुने विश्वास गरेका छन् ।
लामो समयसम्म ताला लागेकाले सेवाग्राहीहरू विभिन्न समस्याहरू झेल्न बाध्य भएका थिए । कार्यालय बन्द हुँदा सरकारी कामकाज ठप्प भएको मात्र नभई दैनिक प्रशासनिक कार्यहरू पनि प्रभावित भएका थिए । ताल्चा खुलाइसकेपछि अब नगरपालिकाको नियमित सेवा पुनः सञ्चालन हुने आशा गरिएको छ । नगर उपप्रमुखको नेतृत्वमा लगाइएको ताल्चा नगरपालिकाका केही विवादास्पद निर्णयहरूमा असहमति जनाउँदै गरिएको थियो ।
यो ताल्चा लगाउने कार्यले स्थानीय स्तरमा निकै चासो र विवाद उत्पन्न गरेको थियो । तर, अन्ततः सर्वपक्षीय सहमति जुट्न सफल भएपछि झगडाको सम्भावना टरेको छ । यो घटनाले नगरपालिकाको आन्तरिक व्यवस्थापन र सेवा प्रवाहप्रति थप गम्भीर बन्ने आवश्यकतालाई उजागर गरेको छ। अब नगरपालिकाले नागरिकका समस्याहरूलाई प्राथमिकतामा राख्दै दुवै पक्षका मागहरू सम्बोधन गर्दै अघि बढ्नुपर्ने स्थानियहरूको माग छ ।