रमेश कुमार यादब
माघ १२, रौतहट
रौतहट जिल्लाको गढिमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित मुसहर बस्तीमा चिसो प्रभावित अति विपन्न परिवारलाई दोस्रो पटक
राहत सामग्री वितरण गरिएको छ । यो कार्यक्रम गढिमाई नगरपालिका र २ नं.का वडाअध्यक्ष दिपेन्द्र श्रेष्ठको विशेष पहलमा सम्पन्न भएको हो । गढिमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादवको नेतृत्वमा नेपाल बाढी र पहिरो प्रतिकार्य तथा पुर्नलाभ परियोजनाको सहकार्यमा मुसहर बस्तीका ५० जना गरिब दलित समुदायका व्यक्तिहरूलाई राहत सामग्री वितरण गरिएको हो ।
कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख यादवले भने, “तिन हप्तादेखि बढिरहेको चिसोका कारण मानिसहरू निकै कष्ट भोगिरहेका छन् । विशेष गरी मुसहर, डोम, चमार जस्ता कमजोर परिवारहरू चिसोबाट बढी प्रभावित भएका छन् । नगरबासिको जिउज्यानको रक्षा हाम्रो प्रथम उत्तरदायित्व हो । यसलाई मध्यनजर गर्दै पालिका र अन्य विभिन्न संघसंस्थाको सहयोगमा हामीले चिसोबाट बचाउन प्रयास जारी राखेका छौं ।

“ नगर प्रमुख यादवका अनुसार लक्ष्मीपुर मुसहर बस्तीमा पुगेको टोलीले प्रति परिवार करिब ७ हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका छन । ती सामग्रीमा डस्ना २ थान, तन्ना २ थान, ब्ल्याङ्केट २ थान, सिरानी खोल २ थान, पी फोम ४ मिटर, र फिल्टर १ थान रहेका थिए । कार्यक्रमका क्रममा स्थानीयवासीहरूले राहत सामग्रीप्रति उच्च प्रशंसा व्यक्त गरेका छन् । उनीहरूले दैनिक ज्यालादारीमा निर्भर आफ्नो जीवनशैलीका कारण चिसोको समयमा झनै कष्ट बढेको बताए ।
राहतस्वरूप वितरण गरिएको कम्बल र अन्य सामग्रीले ठूलो राहत मिलेको उनीहरूको प्रतिक्रिया रहेको थियो । मुसहर बस्तीका एक जना स्थानीय रामलाल मुसहरले भने, “चिसोका कारण बच्चा र बृद्धबृद्धाले निकै कष्ट भोगिरहेका थिए । यो समयमा नगरपालिकाले दिएको कम्बलले हाम्रो पीडा केही हदसम्म कम भएको छ । यो सहयोगले हाम्रो परिवारलाई चिसोबाट जोगाउन मद्दत पुग्यो ।“ गढिमाई नगरपालिकाको यो पहललाई स्थानीय समुदायका साथै अन्य संघसंस्थाले पनि प्रशंसा गरेका छन् ।

स्थानीय प्रशासन र संघसंस्थाहरूको सहकार्यले अति प्रभावित समुदायका लागि राहत र सहयोगको वातावरण सिर्जना गर्न मद्दत पुगिरहेको छ । “नगरपालिकाको दायित्व नागरिकप्रति छ । हाम्रो प्रयासले एउटा पनि व्यक्तिको ज्यान चिसोका कारण नजाओस् भन्ने उद्देश्य हो,“ नगर प्रमुख यादवले भने । नगर प्रमुख यादवले आगामी दिनमा पनि चिसोबाट प्रभावितहरूलाई थप राहत प्रदान गर्न विभिन्न योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमलाई व्यवस्थित गर्न गढिमाई नगरपालिका र नेपाल बाढी तथा पहिरो प्रतिकार्य परियोजनाका प्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए भने त्यस कार्यक्रममा गढिमाई नगरपालिकाको वार्ड नं.२ का वडाअध्यक्ष तथा सोहि पालिकाको प्रवक्ता दिपेन्द्र श्रेष्ठ, रामसोगारथ यादब, शिक्षा शाखाको स–संयोजक संजय प्रसाद यादब लगायत सयकडौं मानिसहरुको साहभागिता रहेको थियो । यस अघि पनि सोहि वार्डका १५० जना अति गरिब बिपन्न, दलित परिवारहरुलाई कम्बल बितरण गर्नु भएका थिए ।
