रमेश कुमार यादब
माघ १२, रौतहट
पछिल्लो तीन सातादेखि रौतहट सहित तराई(मधेश क्षेत्रमा शीतलहर र बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित हुँदै गएको छ । अत्यधिक चिसोका कारण स्थानीयबासीले दैनिक जीवनयापनमा समस्या भोग्नुपरेको छ भने ट्राफिक व्यवस्थापनमा पनि चुनौति बढेको छ । शीतलहर र हुस्सुको प्रभावले सवारी साधनको गति प्रभावित हुँदा दुर्घटनाको जोखिम थप उच्च बनेको छ । यही अवस्थालाई ध्यानमा राख्दै रौतहट ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरेको छ ।

दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने, सवारी चालकको स्वास्थ्य परीक्षण गर्ने, इन्डिकेटर बत्ती बालेर बिस्तारै सवारी चलाउन अनुरोध गर्ने तथा ओभरटेक नगर्न सुझाव दिने कार्यहरू गरिएको छ । ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीका अनुसार हुस्सु र चिसोका कारण सवारी चालकले नजिकको बाटोसमेत देख्न नसक्ने अवस्था सिर्जना भएकाले विशेष सतर्कता अपनाउन सवारी चालकहरूलाई निरन्तर आग्रह गरिँदैछ ।
दुर्घटना न्यूनीकरणका लागि रौतहट ट्राफिक प्रहरीले जिल्लाका विभिन्न पालिकाहरूमा रहेको विद्यालयमा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । यी कार्यक्रमहरू मार्फत विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई सडक सुरक्षाका उपाय, टूाफिक नियमहरूको पालना, र सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी दिइएको छ । त्यसतै यो आर्थिक वर्ष २०८१/0८२ को पुस मसान्तसम्म रौतहटमा सवारी साधनका कारण हुने दुर्घटनाको विवरण सार्वजनिक गरिएको छ । लापरवाहीका कारण मोटरसाइकल, कार, बस र टूकसम्बन्धी ७ हजार ३ सय ३५ सवारी साधनमाथि कारबाही गरिएको छ ।

यस क्रममा ६८ लाख ४३ हजार ३ सय रुपैयाँ राजस्व संकलन गरिएको छ । साथै प्रहरी निरीक्षक अधिकारीका अनुसार यो अवधिमा ३ सय ८५ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ भने ६१० जना घाइते भएका छन् । यसले दुर्घटनाको रोकथाम र जनचेतनाको आवश्यकता अझै धेरै भएको देखाएको छ । रौतहट ट्राफिक कार्यालयले अहिलेसम्म ७ सय ७८ स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
ती कार्यक्रममा २४ हजारभन्दा बढी मानिसले सहभागिता जनाएका थिए । ट्राफिक प्रहरीको प्रयासले केही मात्रामा दुर्घटना न्यूनीकरण भए पनि जोखिम अझै उच्च रहेको र सावधानी अपनाउनुपर्ने अवस्था रहेको निरिक्षक अधिकारीले बताए । रौतहट ट्राफिक प्रहरीले सवारी चालक र पैदलयात्रुलाई हुस्सु र चिसोको समयमा थप सतर्क रहन आग्रह गरेको छ ।
साथै, नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ । ट्राफिक नियमको पालना र जनचेतनाको अभिवृद्धि नै दुर्घटनाबाट बच्ने मुख्य उपाय भएको कार्यालय प्रमुख अधिकारीले जोड दिएका छन् । रौतहट ट्राफिक प्रहरीले सञ्चालन गरिरहेको यो अभियानबाट दुर्घटनाको दर घट्ने अपेक्षा गरिएको छ । यसले सवारी साधनका चालक र यात्रुलाई सुरक्षित यात्रा सुनिश्चित गर्ने विश्वास गरिएको छ ।