रमेश कुमार यादब
माघ १३, रौतहट
रौतहटः गौर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो छ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ। कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहका अनुसार साउनदेखि पुससम्म कुल रु १४ करोड ६७ लाख ५५ हजार राजस्व सङ्कलन भएको छ। भन्सार विभागले यो आर्थिक वर्षको लागि गौर भन्सार कार्यालयलाई कुल रु ३५ करोड ४३ लाख ७८ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको थियो। पहिलो छ महिनामा नै लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको जानकारी दिँदै प्रमुख सिंहले कार्यालयले वार्षिक लक्ष्य भेट्टाउने दिशामा काम गरिरहेको बताए।
पुस महिनामा सबैभन्दा धेरै राजस्व सङ्कलन
साउनदेखि पुससम्मको अवधिमा सबैभन्दा बढी राजस्व पुस महिनामा सङ्कलन भएको छ। यो महिनामा रु तीन करोड ४७ लाख १४ हजार राजस्व सङ्कलन भएको र यो लक्ष्यभन्दा १७ प्रतिशत बढी रहेको प्रमुख सिंहले जानकारी दिए। “पछिल्ला महिनाहरूमा राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि हुँदै आएको छ, र यो हाम्रो समर्पण र प्रभावकारी कार्यसम्पादनको परिणाम हो,“ सिंहले थपे।
चोरी निकासी रोक्न प्रहरीको सक्रियता गौर भन्सार कार्यालयले राजस्व सङ्कलनमा प्रगति गरिरहँदा, रौतहट प्रहरीले पनि सीमा क्षेत्रमा चोरी निकासी र अवैध सामान ओसारपसार रोक्न उल्लेखनीय भूमिका खेलेको छ। रौतहट प्रहरी प्रमुख दिलीप घिमिरेका अनुसार, गत साउनयता रु दुई करोड ४२ लाख ७७ हजार चार सय ४३ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ।
यस अवधिमा प्रहरीले अवैध सामान ओसारपसारमा संलग्न ६६ जनालाई पक्राउ गरेको छ। साथै, १०८ वटा मोटरसाइकल, दुई थान पिकअप भ्यान, दुई थान स्कारपियो गाडी, १४ वटा साइकल, र चारवटा सिटीरिक्सा समेत बरामद गरिएको छ। प्रहरी प्रमुख घिमिरेले भने, “सीमा क्षेत्रमा चोरी निकासी नियन्त्रण गर्न प्रहरी लगातार क्रियाशील छ। अवैध गतिविधि रोक्न र राजस्वमा योगदान पुर्याउन हामी पूर्ण समर्पित छौँ।“
भन्सार विभागको उच्च प्राथमिकता
गौर भन्सार कार्यालयले राजस्व सङ्कलनको कार्यलाई अझ प्रभावकारी बनाउन नयाँ प्रविधिको उपयोग, कर्मचारी तालिम, र समन्वयात्मक कार्यशैलीलाई प्राथमिकता दिएको छ। यस वर्षको राजस्व लक्ष्य पूरा गर्न कार्यालयले अझै थप योजना तथा रणनीति तयार पारेको छ।भन्सार कार्यालयले अवैध गतिविधि रोक्न र कानुनी संरचना सुदृढ गर्न स्थानीय प्रशासन, प्रहरी र व्यवसायिक समुदायसँग सहकार्य गर्दै आएको छ। राजस्व सङ्कलनमा आएको प्रगति र चोरी निकासी नियन्त्रणका गतिविधिहरूले गौर भन्सार कार्यालयलाई आर्थिक वर्षको लक्ष्य पूरा गर्ने आत्मविश्वास दिलाएको छ।