रमेश कुमार यादब
माघ १४, रौतहट
रौतहटको गौरमा ट्रान्सफर्मर तोडफोड गर्दै तामाको क्वाइल चोरी भएको घटना सार्वजनिक भएको छ। गौर नगरपालिका–१ स्थित धर्मशाला पछाडि सूर्य मन्दिर नजिकै रहेको दाल मिलको लागि जडान गरिएको ११ हजार भोल्ट सप्लाई ट्रान्सफर्मर गएराति अज्ञात समूहले तोडफोड गरी भित्र रहेको तामाको क्वाइल चोरी गरेको हो। घटनाबारे जानकारी पाउनेबित्तिकै स्थानीयले प्रहरीलाई सूचना दिएका थिए।
जिल्ला प्रहरी कार्यालय, रौतहटले घटनाको पुष्टि गर्दै यसबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीका अनुसार चोरी गर्ने समूहले ट्रान्सफर्मर तोडफोड गरी तामाको महत्त्वपूर्ण भाग मात्रै निकालेर लगेका छन्, जसले विद्युत आपूर्तिमा अवरोध उत्पन्न गरेको छ। रौतहटमा पछिल्लो समय ट्रान्सफर्मर तोडफोड र चोरीका घटनामा बृद्धि हुँदै गएको देखिएको छ। विद्युत आपूर्ति बन्द हुने र महँगो मूल्यको तामाको कारण यस्ता घटनाहरूमा संलग्न समूह सक्रिय भएको अनुमान गरिएको छ।
यसअघि पनि रौतहटका विभिन्न ठाउँमा ट्रान्सफर्मर चोरीका घटनाहरू भएका थिए, जसले विद्युत वितरणमा समस्या उत्पन्न गराएको थियो। स्थानियवासीहरूले रातिको समयमा प्रशासनले निगरानीमा थप सक्रियता देखाउनु पर्ने माग गरेका छन्। यस घटनाले विद्युत कटौती र सर्वसाधारणको दैनिक जीवनमा समस्या ल्याएको भन्दै उनीहरूले चोरी नियन्त्रणका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन्। घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसन्धान सुरु भएको जनाएको छ।
चोरीमा संलग्न समूहलाई पत्ता लगाउन र कारबाही गर्न विभिन्न सुराकहरूको आधारमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यो घटनाले रौतहट क्षेत्रका अन्य स्थानमा पनि यस्तै गतिविधि नदोहरियोस् भनेर सतर्कता अपनाउनु पर्ने स्थानीयको धारणा छ। साथै, ट्रान्सफर्मर जडान गर्ने स्थानहरूमा निगरानी बढाउनुका साथै सुरक्षा प्रविधि जडान गर्न विद्युत प्राधिकरणले पहल गर्नुपर्ने माग स्थानीयहरूले गरेका छन्।