वर्तमानकाल सम्वाददाता
माघ १४ गते ।
नेकपा माओवादी केन्द्र सर्लाहीले आज साँझ जिल्लाका विभिन्न ७ स्थानमा राँके जुलुस निकालेको छ । बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तानलगायतलाई झुठा वन मुद्दा दायर गरेर फसाउने षडयन्त्र भएको आरोप लगाउँदै माओवादी केन्द्र सर्लाही अहिले आन्दोलित छ । चरणवद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत सो पार्टीले आज साँझ पूर्व पश्चिम राजमार्गको लालबन्दी, हरिवन र बागमती तथा सदरमुकाम मलंगवा, बरहथवा, गोडैता र हरिपुरमा राँके जुलुस निकालेको हो ।
यसअघि हिजो लालबन्दीस्थित वन कार्यालयमा धर्ना दिइएको थियो । आफ्ना पार्टीबाट निर्वाचित बागमतीका नगरप्रमुख, उपप्रमुखलगायतमाथि वन मुद्दा दायर गर्न लागिएपछि आन्दोलित माओवादीले आन्दोलनको कार्यक्रम अन्तर्गत भोली माघ १५ गते बागमतीस्थित पुतलीचोकमा दुुई घण्टा चक्काजाम र माघ १६ गतेदेखि अनिश्चितकालिन चक्काजाम गर्ने कार्यक्रम तय गरेको छ ।
सङ्घीय तथा प्रदेशको वन मन्त्रालयले बागमतीमा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) र आसपासको क्षेत्रमा बसेको बस्ती सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रभित्र पर्ने÷नपर्ने भनी अनुसन्धान गर्न डिभिजन वन कार्यालयलाई पत्र पठाएको छ । मन्त्रालयबाट पत्र प्राप्त भएपछि वन कार्यालयले अनुसन्धान अधिकृत तोकेर पोखरी निर्माण भएको स्थल तथा आसपासको वस्ती वन क्षेत्रभित्र पर्ने नपर्ने वा संरचना निर्माणकाक्रममा स्वीकृत लिए÷नलिएको अनुसन्धान सुरु गरेको छ ।