रमेश कुमार यादब
माघ १७, रौतहट
पोठियाही स्थित रहेको निर्माणधिन श्री राम जानकी मठलाई नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले अनुगमन तथा निरिक्षण गर्नु भएका छन । गरुडा नगरपालिका–६ पोठियाही स्थित ऐतिहासिक तथा धार्मिक महत्वको श्री राम जानकी मन्दिरको पुनर्निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । नगरपालिकाले जीर्ण अवस्थामा पुगेको यो मन्दिरलाई नयाँ स्वरूप दिनका लागि ३५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । पुनर्निर्माण कार्यको प्रगतिलाई नजिकबाट अवलोकन गर्न गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल स्वयं मन्दिर परिसर पुगेर निरीक्षण गर्नु भयो ।
यो मन्दिर पोठियाही गाउँका साथै वरपरका क्षेत्रका धार्मिक आस्थाका केन्द्रहरूमध्ये एक हो । दशकौँ पुरानो मठ जीर्ण बन्दै गएपछि दैनिक पूजा, सत्संग, तथा अन्य धार्मिक क्रियाकलापमा कठिनाइ उत्पन्न भएको थियो । स्थानीयहरूले लामो समयदेखि यसको पुनर्निर्माणको माग गर्दै आएका थिए । नगरपालिकाले धार्मिक सम्पदाको संरक्षण तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ मन्दिर पुनर्निर्माणको पहल गरेको हो ।अनुगमनका क्रममा नगर प्रमुख जैसवालले निर्माण सामग्रीको गुणस्तरमा कुनै सम्झौता नगर्नु पर्ने स्पष्ट निर्देशन दिएका छन् । सिमेन्ट, बालुवा, गिट्टी तथा छडको गुणस्तरीय प्रयोग गर्न, निर्माण कार्यमा कुनै प्रकारको लापरबाही सह्य नहुने भन्दै निर्माण समितिलाई सचेत गराउनु भयो ।
मन्दिरलाई आधुनिक शैलीमा भव्य तथा आकर्षक बनाइने जानकारी दिँदै उनले यसले धार्मिक पर्यटकको आगमन बढाउनेमा विश्वास व्यक्त गरे ।नगरपालिकाको यस महत्वपूर्ण निर्णयले पोठियाहीबासी अत्यन्तै उत्साहित छन् । नयाँ मन्दिर निर्माण भएपछि यहाँ दैनिक पूजा(अर्चना, प्रवचन, भजन (कीर्तन, धार्मिक सभाहरू, विवाह, यज्ञ जस्ता कार्यक्रमहरू सहज रूपमा सञ्चालन गर्न सकिने विश्वास स्थानीयले व्यक्त गरेका छन् । नयाँ संरचना निर्माण भएपछि धार्मिक तथा सांस्कृतिक गतिविधि झन् सक्रिय हुनेमा स्थानीय ढुक्क छन् ।
स्थानिय समाजसेवी, बुद्धिजीवी तथा पूजारीहरूले नगर प्रमुख जैसवालको धार्मिक तथा सांस्कृतिक धरोहरको प्रवद्र्धन गर्ने प्रयास प्रति धन्यवाद व्यक्त गरेका छन् । उनीहरूका अनुसार, यो पुनर्निर्माणले पोठियाही क्षेत्रको धार्मिक पर्यटनमा सकारात्मक प्रभाव पार्नेछ ।नगरपालिकाले अन्य मठमन्दिरहरूमा पनि ध्यान दिने नगरपालिकाले केवल श्री राम जानकी मन्दिर मात्र नभई नगरभित्रका अन्य जीर्ण मठमन्दिरहरूलाई पनि पुनर्निर्माण तथा संरक्षण गर्ने योजनासहित अगाडि बढेको छ ।
नगर प्रमुख जैसवालका अनुसार, सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु नगरपालिकाको प्राथमिकतामा छ । विभिन्न स्थानका पुराना मन्दिर तथा मठहरूको पुनर्निर्माणको कार्य सूचीमा समावेश गरिएको छ ।यसरी, गरुडा नगरपालिकाले धार्मिक तथा सांस्कृतिक
धरोहरहरूको संरक्षण गर्दै नगरवासीको आस्था र विश्वासलाई सम्मान दिएको छ ।नगरपालिकाले असार मसान्त भित्रै मन्दिर निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य लिएको छ । पुनर्निर्माण कार्य पूरा भएपछि यस मठलाई अझ व्यवस्थित बनाएर भविष्यमा ठूलो धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।