वर्तमानकाल सम्वाददाता
माघ १७ गते ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–ढल्केबर खण्डका ५५ पुल जोखिमपूर्ण अवस्थामा छन् । राजमार्गमा रहेका पुलमध्ये कुनैमा आसपासबाट जथाभावी ढुंगागिट्टी निकालिँदा जग धरापमा परेका छन्, कुनै पुलमा बेरिङ बिग्रिने समस्या छ, फलामे पुल खियाले खिइँदै गएका छन् । रौतहट र सर्लाही जोड्ने बागमती नदीको पुलमा बिम (गिर्डर) चर्किएका कारण सवारी आवागमन थप जोखिमपूर्ण बनेको छ । बिम चर्किएपछि एक पटकमा एउटा मात्र गाडीलाई आउजाउ गर्न दिइएको छ ।
पुलको पूर्वतर्फ ७ नम्बरको स्परमाथि जडान गरिएको बिम झन्डै ८ सेन्टिमिटर चर्किएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । ‘एकै पटक चार÷पाँच वटा मालवाहक सवारी पुलमाथिबाट गुड्न थाले भने दुर्घटना हुन सक्छ,’ सडक कार्यालयका इन्जिनियर प्रकाश यादवले भने । जिल्ला ट्राफिक कार्यालय रौतहटका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीका अनुसार बागमतीको पुलमा एक पटकमा एउटा मात्र सवारी आउन÷जान दिने व्यवस्था मिलाउन ट्राफिक प्रहरी खटाइएको छ ।
पुलको बिम चर्किएको जानकारी पाएपछि पुल महाशाखाले मंगलबार निरीक्षण गरेको थियो । डिभिजन सडकका अनुसार पुलको पिलरमाथि बेरिङ लगाइएको हुन्छ । त्यसमाथि गिर्डर राखेर ढलान गरिएको हुन्छ । ‘त्यही गिर्डर चर्किएर मर्मत गर्नुपर्ने भएको हो,’ इन्जिनियर यादवले भने । स्थानीय गोपाल घिमिरेले बागमती पुल जीर्ण बन्दै गएको बारेमा सडक डिभिजनलाई पटकपटक भन्दै आए पनि मर्मतमा चासो नदेखाएको बताए ।
बारामा पर्ने बकैया पुल, पसाह पुल, दुधौरा पुल, १ नम्बर पुल, २ नम्बर पुल, ३ नम्बर, रौतहटतर्फ चाँदी, लमाहा, बागमती पुललगायत जीर्ण भइसकेका छन् । दुधौरा पुल दुई पटक भासिएपछि नयाँ निर्माण गर्ने क्रममा छ । बारा क्षेत्रकै अन्य केही पुलको भाग जमिनमा टाँसिन लागेको छ । बागमतीको पुल एक वर्षअघि ६ इन्च र चाँदी पुल ४ इन्च तल धसिएको थियो । त्यसपछि गौरीपार्वती हिमालयन जेभी कम्पनीले मर्मत गरेको थियो । राजमार्गका अन्य पुलमा रेलिङ भाँचिने, खाल्डो पर्ने जस्ता समस्या पनि छन् ।
भारवहन क्षमताभन्दा बढीका सवारीसाधन चलाउँदा पनि सम्बन्धित निकायले नियमन गर्न सकेको छैन । बाराको पथलैयादेखि धनुषाको ढल्केवरसम्मका पुल तत्कालीन सोभियत संघको सहयोगमा २०२६ सालमा बनाइएका हुन् । यस खण्डको सडक ९ मिटर चौडा छ भने पुल ५ मिटरको मात्रै छ । पूर्व–पश्चिम राजमार्ग भएर दिनमा ५ हजारभन्दा बढी सवारीसाधन गुड्छन् । पुराना र साँघुरा पुलका कारण सवारी ओहोरदोहोरमा समस्या हुने गरेको छ । ‘साँघुरो पुलका कारण सवारी जाम हुने समस्या छ । जीर्ण पुलमा जाम हुँदा दुर्घटना निम्तिन सक्छ,’ ट्राफिक कार्यालयका प्रहरी निरीक्षक अधिकारीले भने ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका डीएसपी लीला लामिछानेले बाराको पसाहा, निजगढको बकैया र रौतहटको लमाहा, चाँदी, बागमती पुलमा सवारी जामले हैरान बनाएको बताए । राजमार्गका अधिकांश पुलका बिम
पुराना भइसकेकाले तत्काल मर्मत नगरे जुनसुकै बेला दुर्घटना निम्तिन सक्ने स्थानीय बताउँछन् । पुल महाशाखा प्रमुख ललिजन खनालले पूर्व–पश्चिम राजमार्गका पुलहरू पुराना भएकाले समस्या आएको बताए ।
पूर्व–पश्चिम राजमार्ग चार लेन बनाउने क्रममा नयाँ पुल पनि निर्माण हुने भएकाले त्यसपछि समस्या नरहने उनको भनाइ छ । महाशाखाका अनुसार कमलादेखि बागमतीसम्मको ७७ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का लागिसकेको छ । यस खण्डमा ७६ वटा पुल पर्ने सडक विभागका उपमहानिर्देशक विजय जैसीले जानकारी दिए ।