वर्तमानकाल सम्वाददाता
माघ १८ गते ।
मधेस प्रदेशकै केन्द्रीय अस्पताल नारायणी अस्पतालको जीर्ण अवस्था र सरकारी बेवास्ताविरुद्ध चिकित्सक, स्वास्थ्यकर्मी, नागरिक समाज तथा स्थानीयवासीले आन्दोलन थालेका छन् । शुक्रवार अस्पताल परिसरमा चिकित्सकसहित स्वास्थ्यकर्मीहरूले सङ्घर्ष समिति नै गठन गरेर आप्रोनसहित धर्ना दिँदै सरकारको ध्यानाकर्षण गराएका हुन् । अस्पतालको संरचना भूकम्पीय दृष्टिले अति जोखिमयुक्त छ, तर सरकार यसप्रति गम्भीर नबनेको भन्दै चिकित्सकहरूले आक्रोश व्यक्त गरेका छन् ।
समितिका अध्यक्ष समेत रहेका नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा. नीरज कुमार सिंहले नारायणी अस्पतालको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारको लापरबाहीको आलोचना गरे । उनका अनुसार अस्पतालको भवन निकै जीर्ण भइसकेको छ, जसका कारण चिकित्सकहरू ज्यानकै बाजी लगाएर बिरामीहरूको उपचार गर्न बाध्य छन् । डा. सिंहले जीर्ण भवनमा काम गर्नु चिकित्सक र बिरामीका लागि ज्यानको जोखिम मोल्नु सरह भएको बताउँदै सरकारलाई अविलम्ब पुनर्निर्माण कार्य अघि बढाउन आग्रह गरे ।
उनले नारायणी अस्पताल मधेस प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्र भएको र यसले पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा तथा छिमेकी भारतका गरी करिब ३० लाख जनसङ्ख्यालाई सेवा दिइरहेको उल्लेख गरे । लाखौँ जनतालाई उपचार सेवा प्रदान गर्दै आइरहेको अस्पतालमा आधारभूत पूर्वाधारको अभाव रहेको र आधुनिक स्वास्थ्य सेवा प्रदान गर्न नसकिने अवस्थाले बिरामीहरूलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
नेपाल सरकारले आर्थिक वर्ष २०७४÷७५ मा पाँच सय शय्याको अस्पताल निर्माण गर्ने योजना ल्याएको थियो । करिब १ अर्ब ५५ करोड रुपैयाँको लागतमा भवन निर्माणको टेन्डर प्रक्रिया अघि बढाइएको भए पनि कानुनी जटिलताका कारण अस्पतालको पुनर्निर्माण रोकिएको छ ।