रमेश कुमार यादब
माघ १८, रौतहट
रौतहट जिल्लाको गरुडा नगरपालिकास्थित मलाहिटोलमा निर्माणाधीन अवस्थामा रहेको अधूरो सामुदायिक धर्मशाला भवनको निरीक्षण नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले गर्नु भएको छ । उक्त धर्मशाला केही वर्षअघि निर्माण सुरु गरिएको भए पनि छत ढलान गरेपछि अन्य कार्य रोकिएको थियो, जसका कारण स्थानीय बासिन्दाहरूले निरन्तर नगरपालिकासँग उक्त भवनको पूर्णता दिन माग गर्दै आएका थिए ।
नगर प्रमुख जैसवालले स्थानीय बासिन्दाको मागलाई सम्बोधन गर्दै “तराई मधेश समृद्धि कार्यक्रम परियोजना“ अन्तर्गत प्राप्त बजेट तथा नगरपालिकाको सहयोगमा करिब ३२ लाख रुपैयाँको लागतमा धर्मशालाको बाँकी निर्माण कार्य पूरा गर्न लागिएको जानकारी दिनुभयो । उहाँले उक्त धर्मशालाको निर्माण सम्पन्न भएपछि गरिब, असहाय तथा कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरूलाई विभिन्न धार्मिक, सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाको ध्यानाकर्षण गराउँदै स्थानीय बासिन्दाहरूले धर्मशालाको तत्काल निर्माण कार्य अघि बढाउनुपर्ने माग गर्दै आएका थिए ।
धर्मशालाको अधूरो संरचना लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहँदा त्यसको अवस्थासमेत बिग्रने डर थियो । त्यसैले नगर प्रमुख जैसवालको निरीक्षणपछि अब सो भवन छिट्टै पूरा हुने स्थानीय बासिन्दाहरूले आशा व्यक्त गरेका छन् । नगर प्रमुख जैसवालका अनुसार निर्माणाधीन धर्मशालाको छत बाहेक अन्य भौतिक संरचना, भित्री सजावट, पर्खाल, ढोका, झ्याल तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरिनेछ ।
साथै, भवनको वातावरण स्वच्छ राख्न वरपर सरसफाइ तथा हरियाली प्रवद्र्धन गर्ने योजना समेत रहेको उहाँले जानकारी दिनुभयो । नगर प्रमुख जैसवालले धर्मशालाको उपयोगिता बताउँदै यो भवन समुदायका लागि बहुउद्देश्यीय रूपमा प्रयोग गरिने उल्लेख गर्नुभयो । विशेष गरी गरिब, असहाय तथा विपन्न समुदायका मानिसहरूलाई आवश्यक कार्यक्रम सञ्चालन गर्न सजिलो हुने गरी व्यवस्थापन गरिनेछ । विवाह, धार्मिक तथा सांस्कृतिक कार्यहरूका लागि समेत यस भवनलाई प्रयोग गर्न सकिनेछ ।
नगरपालिकाको सहयोगमा पुनः निर्माण कार्य अघि बढेपछि स्थानीय बासिन्दाहरू उत्साहित भएका छन् । उनीहरूले नगरपालिकाले गरेका पहलप्रति धन्यवाद व्यक्त गर्दै, निर्माण कार्य यथाशक्य चाँडो सम्पन्न गर्न अनुरोध गरेका छन् । धर्मशालाको बाँकी निर्माण कार्य छिट्टै सम्पन्न गरी स्थानीयहरूलाई हस्तान्तरण गरिने नगर प्रमुख जैसवालले प्रतिबद्धता जनाउनु भएको छ ।