रमेश कुमार यादब
माघ १९, रौतहट
जिल्लाका विभिन्न स्थानीय तहहरूले चिसोबाट प्रभावित नगरवासीका लागि प्रभावकारी राहत कार्य गर्न नसकेको अवस्थामा गरुडा नगरपालिकाले भने विपन्न तथा गरिब परिवारहरूका लागि कम्बल र दाउरा वितरण अभियानलाई निरन्तरता दिइरहेको छ । गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी प्रसाद जैसवालको नेतृत्वमा नगरपालिकाले नगरवासीलाई कठ्याङ्ग्रिँदो चिसोबाट जोगाउनका लागि विशेष राहत वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
चिसो मौसमले विशेषगरी दैनिक ज्यालादारीमा निर्भर गरिब तथा विपन्न परिवार, वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, सडक बालबालिका, तथा आश्रयहीन व्यक्तिहरूलाई बढी प्रभावित गर्ने भएकाले राहत वितरणलाई प्राथमिकता दिइएको छ । नगरप्रमुख जैसवालका अनुसार राहत वितरण कार्यक्रम तीन पटकसम्म विभिन्न स्थानहरूमा सञ्चालन गरिसक्नु भएका छन । सार्वजनिक स्थल, मठ(मन्दिर, चौक(चौतारा, अनाथालय, तथा अन्य सार्वजनिक स्थानहरूमा राहत सामग्रीहरू वितरण गरिएको छ ।

साथै, नगरपालिकाका विभिन्न वडाहरूमा पुगेर गरिब तथा विपन्न परिवारहरूलाई कम्बल वितरण गरिनुका साथै चिसोबाट बच्न दाउरा समेत उपलब्ध गराइएको छ । नगरप्रमुख जैसवालले भने, “नगरवासीको स्वास्थ्य र सुरक्षाका लागि हामी प्रतिबद्ध छौं । चिसोबाट प्रभावित सबै नागरिकलाई राहत उपलब्ध गराउन नगरपालिकाले आवश्यक पहल गरिरहेको छ ।“
गत करिब चार हप्तादेखि लगातार बिहानैदेखि बाक्लो शीत परिरहेको छ, जसले गर्दा नगरवासीको जनजीवन प्रभावित बनेको छ । कठ्याङ्ग्रिँदो चिसोले वृद्धवृद्धा, बालबालिका, तथा बिरामीहरूलाई विशेष असर पुर्याइरहेको छ ।नगरप्रमुख जैसवालले नगरवासीलाई सावधानी अपनाउन आग्रह गर्दै भने, “चिसोबाट बच्न न्यानो कपडा लगाउने, सकेसम्म घरभित्र रहने, र सचेत रहन आवश्यक छ ।“ साथै, स्वास्थ्य समस्या भएका नागरिकलाई शीघ्र अस्पताल जाने सुझाव समेत दिएका छन् ।नगरपालिकाले गरिरहेको राहत वितरण अभियानप्रति स्थानीयवासीले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
राहत पाएका एक स्थानिय वृद्धले भने, “हामी गरिबहरूका लागि यस्तो सहयोग साह्रै महत्त्वपूर्ण छ। नगरपालिकाले दिएको कम्बल र दाउराले हामीलाई चिसोबाट केही राहत मिलेको छ ।“नगरपालिका प्रशासनका अनुसार, राहत वितरण कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आगामी दिनमा थप सामग्रीहरू वितरण गरिनेछ । नगर प्रमुख जैसवालको नेतृत्वमा गरुडा नगरपालिकाले सामाजिक उत्तरदायित्व बहन गर्दै चिसोबाट प्रभावित गरिब तथा विपन्न परिवारहरूका लागि निरन्तर राहत वितरण गर्ने योजना बनाएको छ ।
नगरप्रमुख जैसवालले नगरवासीलाई कुनै पनि समस्यामा नगरपालिकासँग सम्पर्क गर्न आग्रह गर्दै भने, “नगरपालिका हरेक नागरिकको सेवामा तत्पर छ । कुनै पनि नागरिकले समस्या परेमा नगरपालिकासँग समन्वय गर्न सक्नुहुन्छ ।“नगरपालिकाको यस अभियानले गरिब तथा विपन्न नागरिकलाई केही मात्रामा भए पनि राहत मिलेको छ । यस प्रकारका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिँदा समाजका कमजोर वर्गहरूलाई ठोस सहयोग पुग्ने स्थानीयहरू बताउँछन् ।