रमेश कुमार यादब
माघ १९, रौतहट
रौतहट जिल्लामा भन्सार छलेर चोरी पैठारी गरी ल्याइएका विभिन्न सामानहरू प्रहरीद्वारा बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत भन्सार सुरक्षा गार्ड तथा प्रहरी चेकिङ टोलीले गौर नगरपालिका–१ स्थित सडकखण्डमा विशेष चेकजाँचको क्रममा ती सामानहरू बरामद गरेको हो। प्रहरीले रोकी चेकजाँच गर्दा विभिन्न सवारी साधनहरूमा लुकाइछिपाई ल्याइएका अवैध सामानहरू फेला परेका थिए। बरामद गरिएका सामानहरूमा किराना सामान, कपडा, कस्मेटिक्स लगायतका उपभोग्य वस्तुहरू रहेका छन्।
ती सबै सामान भारतबाट चोरी निकासी गरी ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। बरामद गरिएका वस्तुहरूको कुल अनुमानित मूल्य १,२०,५०३ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक कुमार राय का अनुसार, बरामद सामानहरू आवश्यक कानुनी प्रक्रियाका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।
उनले तस्करी रोकथाम तथा भन्सार छलीका घटनालाई नियन्त्रण गर्न प्रहरीले विशेष चेकिङ अभियान सञ्चालन गरिरहेको बताए। प्रहरीका अनुसार, पछिल्लो समय नेपाल–भारत सीमावर्ती क्षेत्रमा चोरी पैठारीका घटना बढ्दै गएका छन्। यसलाई नियन्त्रण गर्नका लागि सुरक्षा जाँच कडा पारिएको छ। स्थानीय सुराकीका आधारमा विशेष टोली खटाएर सीमा क्षेत्रमा निगरानी बढाइएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले तस्करी तथा भन्सार छल्ने कार्य गैरकानुनी भएकाले यसमा संलग्न जोसुकैलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ। साथै, स्थानीय बासिन्दालाई पनि अवैध तस्करी नियन्त्रणमा सहयोग गर्न अनुरोध गरिएको छ।