रमेश कुमार यादब
माघ १९, रौतहट
रौतहटको गरुडा नगरपालिकामा कार्यरत एक करारका अमिनको करेन्ट लागेर मृत्यु भएको छ । गरुडा नगरपालिकाका २५ वर्षीय अमिन रामजी साहको ११ हजार भोल्टको तार छुँदा मृत्यु भएको हो । प्राप्त जानकारी अनुसार, रामजी साह गरुडा नगरपालिका–१ जयनगरस्थित निर्माणाधीन एक सार्वजनिक भवनको नापी गर्न गएका थिए । सोही क्रममा उनले भवनको छतबाट मोबाइलबाट फोन गर्ने क्रममा छतबाट ३ फिट माथि नजिकैको ११ हजार भोल्टको विद्युत् प्रसारण लाइन छुँदा उनलाई करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ओम प्रकाश यादवका अनुसार करेन्ट लागेपछि गम्भीर घाइते भएका साहलाई तत्कालै गरुडा स्थित एक स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरियो । तर, अवस्था गम्भीर रहेपछि उनलाई थप उपचारका लागि वीरगन्जस्थित गण्डक अस्पताल लगिएको थियो । गण्डक अस्पतालमा डाक्टरले उनलाई मृत घोषित गरेको यादवले जानकारी दिए ।
मृतक साहको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगन्ज पठाइएको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । रामजी साहको अकाल मृत्युले गरुडा नगरपालिकामा शोकको माहोल छाएको छ । नगरपालिकामा कार्यरत सहकर्मीहरू, स्थानीय बासिन्दा तथा परिवारजन दुःखी भएका छन् ।
मृतक साहको परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा नगरपालिकाले छलफल गरिरहेको मेयर जैसवालले जानकारी दिए । यो घटनाले विद्युत् लाइनको सुरक्षाका बारेमा गम्भीर प्रश्न उठाएको छ । स्थानीयले उच्च भोल्टेजका तारहरूबाट सुरक्षा अपनाउन र सचेत रहन आग्रह गरेका छन् ।