रमेश कुमार यादब
माघ २०,रौतहट
रौतहटको गरुडा नगरपालिकाका कर्मठ, इमानदार र जिम्मेवार अमिन रामजी साहको असामयिक निधनले सिंगो नगरपालिका नै स्तब्ध भएको छ । नगरपालिकाको प्रशासनिक कामकाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका साहको शनिबार निधन भएको हो । उहाँको अचानक निधनले सम्पूर्ण नगर परिवार गहिरो शोकमा डुबेको छ । आइतबार गरुडा नगरपालिकाको तर्फबाट श्रद्धाञ्जली सभा आयोजना गरी नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
नगर प्रमुख जैसवालले स्व. साहको योगदान नगरपालिकाले सधैं सम्झिरहने उल्लेख गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो। साथै, नगरपालिकामा आईतबार एक दिने शोक बिदा दिने निर्णय गरिएको जानकारी गराउनुभयो । नगर प्रमुख जैसवालले स्व. साहलाई सम्झँदै भन्नुभयो(“रामजी साह केवल एक सक्षम कर्मचारी मात्र नभई, अति मिलनसार, सहयोगी र आफ्नो कर्तव्यप्रति निष्ठावान व्यक्ति हुनुहुन्थ्यो ।
उहाँको निधन नगरपालिकाका लागि अपूरणीय क्षति हो । उहाँको परिवारलाई यो अपार दुःख सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु । “उहाँले नगरपालिकाको सेवा प्रवाहमा साहले खेलेको महत्त्वपूर्ण भूमिकालाई नगरपालिकाले कहिल्यै भुल्ने छैन भन्दै
गहिरो शोक व्यक्त गर्नुभयो । नगरपालिकाले आयोजना गरेको श्रद्धाञ्जली सभामा नगर प्रमुख कन्थमनी प्रसाद जैसवालसँगै उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाध्यक्ष, नगरसभा सदस्यहरू, कर्मचारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी तथा सर्वसाधारणको ठूलो सहभागिता रहेको थियो ।
उक्त अवसरमा नगरपालिकाका कर्मचारीहरूले स्व. साहको योगदान र उहाँको सरल स्वभावलाई स्मरण गर्दै भावुक श्रद्धाञ्जली अर्पण गरेका थिए । शनिबार स्व. साहको अन्त्येष्टि गरुडा नगरपालिकाको झाझ खोला स्थित गरिएको नगर प्रमुख जैसवालले जानकारी दिनु भएको छ । गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले स्व. साहको योगदान नगरपालिकाको विकास र सेवा प्रवाहमा अत्यन्त महत्त्वपूर्ण रहेको भन्दै उहाँको सम्झनामा आगामी दिनमा नगरपालिकाले कुनै विशेष कार्यक्रम गर्ने संकेत दिनुभयो । नगरवासीले पनि स्व. साहको निधनलाई नगरपालिकाका लागि अपूरणीय क्षति भएको भन्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।