वर्तमानकाल सम्वाददाता
मघ २० गते ।
सरकारले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १६ लाख किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।
परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार विद्यालय जाने ६ देखि १० कक्षासम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका देशभरका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप अभियान सञ्चालन गर्न लागेको हो । सरकारले विद्यालयमा खोप केन्द्र तोकेको हुँदा लक्षित किशोरीलाई विद्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
सरकारले कोशी प्रदेशका दुई लाख ५९ हजार ८८१, मधेश प्रदेशका चार लाख सात हजार २९१, बाग्मती प्रदेशका दुई लाख ७३ हजार १२१ जनालाई खोप लगाउने लक्ष्य लिएको छ । त्यसैगरी, गण्डकी प्रदेशका एक लाख १८ हजार ७७४, लुम्बिनी प्रदेशका दुई लाख ९९ हजार ४७१, कर्णाली प्रदेशका एक लाख २८ हजार २९६ र सुदूरपश्चिम प्रदेशका दुई लाख एक हजार ९३६ जना लक्षित समूह छन् ।
योभन्दा पहिले आर्थिक वर्ष २०७२/७३,७३/७४ मा दुई वर्ष चितवन र कास्की जिल्लामा परीक्षणको रूपमा एचपिभी खोप अभियान सञ्चालन गरिएको थियो । आर्थिक वर्ष २०८०/८१ मा परीक्षणको रूपमा सातै प्रदेशका एक/एक वटा अस्पतालबाट खोप प्रदान गरिएको थियो । क्यान्सर रोग विशेष डा.सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी भाइरस हो । यो भाइरसको दुई सयभन्दा बढी किसिमका प्रजाति हुन्छन् र तीमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । नेपालमा १६ र १८ प्रजाति ८० प्रतिशतले पाठेघरको मुखको क्यान्सर बनाउने अध्ययनले देखाएको छ ।