रमेश कुमार यादब
माघ २१, रौतहट
माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व यस वर्ष पनि हर्षोल्लासका साथ मनाइएको छ । विशेष गरी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा(आराधना गरी यो पर्व मनाइने गरिन्छ । शिक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने यस पर्वलाई देशभरका विद्यालय, कलेज तथा अन्य शैक्षिक संस्थाहरूले विशेष कार्यक्रमसहित मनाएका छन् ।
सोही अवसरमा गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले आफ्नै नगरपालिकाको मातहत रहेका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग सरस्वती पूजामा सहभागिता जनाउनु भयो । उहाँले विभिन्न विद्यालयहरूमा सरस्वती मन्दिरमा पुजा गरी प्रसाद ग्रहण गर्नुका साथै शिक्षाको स्तर सुधारका लागि नगरपालिकाले गर्ने पहलबारे समेत जानकारी गराउनु भएको थियो ।

नगर प्रमुख जैसवालले विद्यालय भ्रमणका क्रममा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै शिक्षाको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, “शिक्षा समाजको मेरुदण्ड हो । ज्ञान र सिर्जनशीलताका लागि देवी सरस्वतीको आशीर्वाद प्राप्त गर्न विद्यार्थीहरूले परिश्रम गर्नुपर्छ । नगरपालिकाले शिक्षाको गुणस्तर सुधार्न निरन्तर लागिपरेको छ ।“ नगरका विभिन्न विद्यालयहरूले सरस्वती पूजाका अवसरमा विविध कार्यक्रमहरू आयोजना गरेका थिए । विद्यार्थीहरूले देवी सरस्वतीको प्रतिमा स्थापना गरी पूजाआजा गरेका थिए । विभिन्न विद्यालयमा भजन(कीर्तन, धार्मिक प्रवचन, वाद(विवाद प्रतियोगिता, चित्रकला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका थिए।

विद्यार्थीहरूले कलम, पुस्तक, वाद्ययन्त्र, चित्रकला सामग्रीहरू देवी सरस्वतीको चरणमा अर्पण गरी शिक्षामा प्रगति होस् भन्ने कामना गरेका थिए। सरस्वती पूजाका अवसरमा अभिभावक र शिक्षकहरूले समेत विद्यार्थीहरूलाई सकारात्मक सोच राखेर अध्ययनमा लाग्न प्रेरित गरेका थिए। चन्द्रमाजस्तो उज्यालो वर्ण भएकी, हातमा वीणा, पुस्तक र माला लिएकी देवी सरस्वतीलाई ज्ञान, कला र संगीतकी देवी मानिन्छ। हिन्दू धर्मशास्त्रअनुसार, उनी ब्रह्माजीकी पुत्री हुन्।
उनलाई भारती, शारदा, हंसवाहिनी, वागीश्वरी, ब्रह्मचारिणी, वरदायिनी जस्ता विभिन्न नामले पुकारिन्छ। विशेष गरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकार तथा संगीतकर्मीहरूले उनलाई आस्थाका साथ पूजा गर्छन्। नगर प्रमुख जैसवालले विद्यालय भ्रमणका क्रममा शिक्षाको प्रवद्र्धनका लागि नगरपालिकाले गर्ने योजनाबारे जानकारी गराउँदै भौतिक पूर्वाधार, पुस्तकालय तथा डिजिटल शिक्षामा लगानी बढाइने बताउनु भयो ।

साथै, उनले अभिभावक, शिक्षक र विद्यार्थीहरूलाई शिक्षामा गुणस्तर सुधार्न सहकार्य गर्न आग्रह गर्नुभयो। यसरी, नगरभर वसन्त पञ्चमीको अवसरमा धार्मिक तथा शैक्षिक वातावरण सिर्जना गर्दै देवी सरस्वतीको पूजाआराधना गरियो। विद्यार्थीसहित सम्पूर्ण नगरवासीले शिक्षाको महत्त्वलाई आत्मसात् गर्दै यस पर्वलाई उल्लासमय तरिकाले मनाएका थिए।