रमेश कुमार यादब
माघ २१ गते।
रौतहट जिल्लामा सशस्त्र प्रहरीले हुन्डी कारोबारमा संलग्न दुई जनालाई १६ लाख ४९ हजार २०० रुपैयाँ नगदसहित पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल (एपीएफ) नम्बर ११ हेक्वा गण, गौरको टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ठूलो मात्रामा नगद बरामद गरेको हो। सशस्त्र प्रहरीको गस्ती टोलीले रौतहटको इशनाथ नगरपालिका(४ महुलिया नाकामा नियमित जाँचका क्रममा भारतबाट नेपाल प्रवेश गर्दै गरेको मधेस प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकललाई रोकि चेकजाँच गर्दा ठूलो मात्रामा नगद फेला पारेको हो।
पक्राउ परेका व्यक्तिहरूमा राजपुर नगरपालिका–४ का ४० वर्षीय शिव मङ्गल साह र २३ वर्षीय प्रवेज आलम रहेका छन्। सशस्त्र प्रहरी बलका प्रमुख एसपी विक्रम हुमागाईंका अनुसार विशेष सुराकीको आधारमा सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आइरहेको मोटरसाइकललाई रोकेर जाँच गर्दा नगद फेला परेको हो। उक्त रकम हुन्डी कारोबारका लागि अवैध रूपमा भित्र्याइएको आशंका गरिएको छ।
नेपालमा अवैध रूपमा रकम ओसारपसार (हुन्डी) गर्न नपाइने कानूनी प्रावधान छ। तर, सीमावर्ती क्षेत्रहरूमा अझै पनि भारतबाट अवैध रूपमा रकम नेपाल भित्र्याउने कार्य भइरहेका छन्। पक्राउ परेका व्यक्तिहरूले उक्त रकमको वैध स्रोत खुलाउन नसकेपछि उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय, गौर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। हुन्डी अवैध वित्तीय कारोबार गर्ने गैरकानुनी माध्यम हो, जसअन्तर्गत बैंकिङ प्रणालीलाई छल्दै रकम हस्तान्तरण गरिन्छ।
यसरी अवैध रूपमा पैसा ओसारपसार गर्दा सरकारलाई राजस्व नोक्सानी हुनुका साथै विभिन्न गैरकानुनी गतिविधिमा समेत रकम प्रयोग हुन सक्ने खतरा रहन्छ। पक्राउ परेका दुई जनासँगै बरामद गरिएको १६ लाख ४९ हजार २०० रुपैयाँ नगद र मोटरसाइकल समेत जिल्ला भन्सार कार्यालय, गौरमा बुझाइएको छ। अब उनीहरूविरुद्ध आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइने सशस्त्र प्रहरीले जनाएको छ।
सरकारले अवैध हुन्डी कारोबार नियन्त्रण गर्न कडा निगरानी राखेको भए पनि सीमावर्ती क्षेत्रहरूमा अझै पनि यस्ता गैरकानुनी गतिविधि भइरहेका छन्। प्रहरीले अवैध कारोबारविरुद्ध थप कडा निगरानी र कारबाही गर्ने जनाएको छ।