वर्तमानकाल सम्वाददाता
माघ २१ गते ।
पछिल्लो तीन वर्षमा प्रेस काउन्सिल नेपालमा एक हजार ६ सय ६६ अनलाइन सञ्चारमाध्यम सूचीकरण भएका छन् । नयाँ खुलेका अनलाइनका सम्पादक र सञ्चालकहरूलाई पत्रकार आचारसंहिताको अभिमुखीकरण दिने क्रममा सोमबार काउन्सिलले उक्त विवरण सार्वजनिक गरेको हो । विभिन्न पृष्ठभूमिबाट सञ्चार क्षेत्रमा प्रवेश गर्नेहरूलाई पत्रकार आचारसंहिताको दृष्टिकोणबाट लिइने यस्ता कक्षा उपयोगी हुने प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभयो ।
स्वच्छ, मर्यादित, तथ्यपूर्ण र विवादरहित पत्रकारिताका लागि हरेक सञ्चारकर्मीले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्छ, काउन्सिलमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै बस्नेतले भन्नुभयो ।उहाँले प्रेसले पाएको स्वतन्त्रताको अर्थ जथाभावी अधिकार वा स्वच्छन्दता नभएको प्रसङ्ग ल्याउँदै युट्युवसहित सामाजिक सञ्जाल प्रयोग हुने सबै सञ्चारमाध्यम जिम्मेवार हुनुपर्ने बताउनुभयो ।‘‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बलियो बनाउन सञ्चारकर्मी स्वंयको हात महत्त्वपूर्ण हुन्छ ।
अपूर्ण, मिथ्या, कमजोर र असन्तुलित सूचना सम्प्रेषणले प्रेस जगतलाई नै कमजोर बनाउँछ । यसतर्फ काउन्सिल सचेत भई जिम्मेवारपूर्ण ढङ्गले काम गर्दै आएको छ । अभिमुखीकरण कक्षा यसैको एउटा श्रृङ्खला हो,’’ कार्यक्रममा अध्यक्ष बस्नेतले भन्नुभयो । कार्यक्रममा अग्रज पत्रकार एवं निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई र काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले विषयवस्तुमाथि सहजीकरण गर्नुभएको थियो ।
पर्याप्त मेहनतसहित निष्पक्ष ढङ्गले गरिने पत्रकारिताले नै विश्वसनीयता बढाउने अग्रज पत्रकार भट्टराईको सुझाव थियो । उहाँले पत्रकार तथा सञ्चारमाध्यमले गर्न नहुने विभिन्न कामको प्रकाश पार्नुभएको थियो । भुसालले काउन्सिलले विभिन्न समयमा जारी गरेका सञ्चार निर्देशिकाहरूमा केन्द्रित रहेर अन्तक्रिया गर्नुभएको थियो । २०७८ चैतदेखि नियमित रूपमा सञ्चालन अभिमुखीकरण कक्षा सञ्चालन हुँदै आएको काउन्सिलका शाखा अधिकृत सुवास राईले जानकारी दिनुभयो ।