रमेश कुमार यादब
माघ २२, रौतहट
कठ्याङ्ग्रिदो चिसोका कारण प्रभावित भएका जिल्लाका एकल महिलाहरुलाई प्रहरीले कम्बल वितरण गरेको छ । मंगलबार ईलाका प्रहरी कार्यालय गरुडा परिसर भित्र एक विशेष कार्यक्रमको आयोजना गरी जिल्ला विपद् व्यवस्थापन समिति तथा इलाका प्रहरी कार्यालय गरुडा, रौतहटको सहकार्यमा जिल्लाका विभिन्न पालिकाका ६५ जना एकल महिलाहरुलाई कम्बल वितरण गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन कार्की रहनुभएको थियो । कार्यक्रममा बोल्दै डिएसपी कार्कीले प्रहरी केवल कानूनी व्यवस्था कायम गर्ने निकाय मात्र नभई समाजसेवाका कार्यमा पनि संलग्न रहने बताए। “चिसोको कारण कोही पनि समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको हो,“ उहाँले भन्नुभयो । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओमप्रकाश यादवका अनुसार, जिल्लामा शीतलहरका कारण ज्येष्ठ नागरिक, एकल महिला, अशक्त तथा गरिब परिवारहरु बढी प्रभावित भएका छन् ।
यही अवस्थालाई मध्यनजर गर्दै प्रहरीको समन्वयमा राहत वितरण कार्यक्रम सञ्चालन गरिएको हो । रौतहट क्षेत्रमा चिसोका कारण वृद्धवृद्धा, बालबालिका तथा असहाय व्यक्तिहरू बढी प्रभावित भएका छन् । चिसो अझै बढ्ने सम्भावना रहेकाले प्रशासन तथा विभिन्न संघसंस्थाहरूले विपन्न वर्गलाई थप राहत प्रदान गर्ने तयारी गरिरहेका प्रहरी निरिक्षक यादबले बताउनु भयो । कमबल प्राप्त गरेका महिलाहरुले प्रहरी र जिल्ला विपद् व्यवस्थापन समितिलाई धन्यवाद दिएका छन् ।
स्थानीय एकल महिला सीता देवीले भनिन्, “हामी जस्तालाई यसरी सम्झेर सहयोग गरेकोमा खुसी लागेको छ। चिसोले धेरै दुःख दिएको थियो, अब कम्तीमा रातमा न्यानो हुने भयो।“ यो राहत वितरण कार्यक्रमबाट स्थानीय प्रशासन र सुरक्षाकर्मीबीचको समन्वय झनै मजबुत बनेको र आगामी दिनमा पनि यस्ता समाजसेवी कार्य जारी राख्ने प्रतिबद्धता प्रहरी प्रशासनले जनाएको छ।