रौशन कुमार चौधरी
माघ २२, रौतहट
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सर्लाहीको आयोजनामा रौतहट जिल्लाको गरुडा नगरपालिकामा माछा जोनसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।रौतहट जिल्लाको गरुडा नगरपालिका–५, शिवनगरमा आयोजित कार्यक्रममा माछा जोनमा आवद्ध ५२ जना कृषक समूह, सहकारी संस्था, फार्म तथा उद्यमीहरू सहभागी भएका थिए । कार्यक्रममा किसानहरूलाई माछा पालनका विविध पक्ष, पोखरी निर्माण, बजारीकरण तथा सरकारी अनुदानको व्यवस्थापनबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सर्लाहीका वरिष्ठ कृषि अधिकृत रामबलम साह रहनुभएको थियो । उहाँले किसानहरूलाई माछा पालनका लागि आवश्यक भौतिक तथा वित्तीय व्यवस्थापनबारे मार्गदर्शन गर्नुभयो । उहाँका अनुसार, रौतहट जिल्लामा सञ्चालनमा रहेको माछा जोन परियोजना ५ वर्ष अवधिसम्म निरन्तर रहनेछ ।

अधिकृत साहले किसानहरूलाई बैंक ऋण व्यवस्थापन, सरकारी अनुदान प्राप्त गर्ने प्रक्रिया तथा उत्पादित माछाको बजारीकरणबारे जानकारी गराउनुका साथै किसानहरूको समस्या समाधानका लागि सरकारी तहबाट आवश्यक पहल गरिने प्रतिबद्धता जनाउनु भयो ।कार्यक्रममा उपस्थित कृषकहरूले माछा पालनसम्बन्धी आफ्ना अनुभवहरू सेयर गर्दै सरकारले उपलब्ध गराएको अनुदान, प्रविधि र तालिमबाट आफूहरू लाभान्वित भएको बताउनु भयो । किसानहरूका अनुसार, पछिल्लो समय सरकारले प्रवाह गरेका कार्यक्रमहरूबाट माछा पालन व्यवसाय फस्टाउँदै गएको छ ।
कार्यक्रममा प्राविधिक अजय गुप्ताले पनि आफ्नो धारणा राख्दै यस आ.व. भित्रै नयाँ पोखरी निर्माण, ढुवानी सेवा, सिँचाइ व्यवस्थापन, जिउँदो माछा बिक्री केन्द्र, माछा भुरा उत्पादन केन्द्र लगायतका कार्यक्रम सञ्चालन गरिने योजना रहेको जानकारी गराउनु भयो । साथै, माछा किसानहरूका लागि जोन सञ्चालन समितिको गठनबारे वृहत छलफल भएको र चाँडै नै समन्वय समिति गठन गरिने बताउनु भयो ।कार्यक्रममा सहभागी किसानहरूलाई सरकारी अनुदान तथा सहुलियतपूर्ण बैंक ऋण प्रणाली सम्बन्धी जानकारी प्रदान गरियो ।

सरकारी नीति अनुसार किसानहरूले सहुलियतपूर्ण ब्याजदरमा ऋण लिन सक्ने र अनुदानका लागि आवश्यक प्रक्रिया पूरा गरेमा ५०% सम्म अनुदान प्राप्त गर्न सक्ने व्यवस्था रहेको अधिकृत साहले जानकारी गराउनु भएको थियो ।रौतहट जिल्लाका ११ वटा पालिकामा सञ्चालनमा रहेको माछा जोन कार्यक्रमले किसानहरूलाई माछा पालनमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
अधिकृत साहले भने जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं.१, २, ४ र ८, गुजरा नगरपालिकाको १, ३, ८ र ९, गरुडा नगरपालिकाको वार्ड नं.२, ३ र ९, मौलापुर नगररपालिकाको वार्ड नं.४ र ६, फतुवा बिजयपुर नगरपालिकाको वार्ड नं.१,२,३ र ७, परोहा नगरपालिकाको वार्ड नं.९, माधव नरायण नगरपालिकको वार्ड नं.२, राजदेवी नगरपालिकाको वार्ड नं.४, देवाहि गोनाहि नगरपालिकाको वार्ड नं.७, ८ र ९ र गढिमाई नगरपालिकाको वार्ड नं.८ र ९ मा यो माछा जोन कार्यक्रम संन्चालनमा रहेको बताउनु भयो ।
सरकारी तथा निजी क्षेत्रको सहकार्यमा आधुनिक माछा पालन प्रविधि प्रवद्र्धन गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा सहभागी किसानहरूले यस प्रकारका तालिम तथा अनुदान कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने सुझाव दिएका छन् । उक्त एक दिने अभिमुखिकरण कार्यक्रममा गरुडा न.पा.–०९ बाट दिलिप सहनी , फतुवा विजयपुर–०७ पुरुसोतम मिश्रा , चन्द्रपुर–०८ तुल्सीराज गिरि, वृन्दावन न.पा.–०४ बिरेन्द्र सहनी , गरुडा न.पा.–०९ शम्भु सहनि, वृन्दावन–०४ राकेश प्रसाद साह लगायत दर्जनौ किसानहरुको सहभागिता रहेको थियो ।