वर्तमानकाल सम्वाददाता
माघ २४, रौतहट
प्रेस सेन्टर नेपाल रौतहटको तेस्रो जिल्ला अधिवेशन नेतृत्व चयनको विवादका कारण स्थगित भएको छ । बिहीबार चन्द्रनिगाहपुरमा आयोजित अधिवेशन उद्घघाटन सत्रमा मात्र सीमित रहेर सम्पन्न भएको थियो । अधिवेशनको उद्घाटन सत्र मात्र सम्पन्न भई अन्तिम निर्णय नआउँदा अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको हो। जिल्ला अध्यक्ष दिल्ली बहादुर कार्कीको अध्यक्षतामा बसेको अधिवेशन नेतृत्व चयनको चरणमा प्रवेश गर्नै नपाउँदै विवादित बन्न पुगेको हो । अधिवेशनमा प्रेस सेन्टर नेपाल रौतहटको जिल्ला अध्यक्षका उम्मेदवारका रूपमा निवर्तमान सचिव रमेश कुमार यादव र रानी साह (मञ्जु बराइली) प्रतिस्पर्धामा थिए ।
अधिकांश प्रतिनिधिहरू यादवलाई समर्थन गरिरहेका थिए, तर अध्यक्ष कार्कीले आफ्ना निकट उम्मेदवार साहलाई अध्यक्ष बनाउनुपर्ने अडान लिएपछि विवाद उत्पन्न भएको हो । संगठनको लागि लामो समयदेखि क्रियाशील रहँदै आएका रमेश कुमार यादवले नेतृत्व चयनमा हस्तक्षेप हुन नहुने स्पष्ट पारे । उनले भने, “संघर्ष गरेर संगठनको लागि योगदान पु¥याएका व्यक्तिहरूलाई बाइपास गरी व्यक्तिगत रुचिका आधारमा नेतृत्व चयन गरियो भने संगठनको साख कमजोर हुनेछ ।“ यादवलाई समर्थन गर्ने प्रतिनिधिहरूले पनि निष्पक्ष रूपमा नेतृत्व चयन हुनुपर्ने माग गरेका थिए ।
तर, दुई पक्षबीच सहमति जुट्न नसकेपछि अधिवेशन स्थगित गरिएको हो । पत्रकार पवन कुमार उपाध्यायका अनुसार, अधिवेशनमा सहभागी सदस्यहरू नेतृत्व चयन गर्न तत्पर भए पनि अध्यक्ष कार्कीले आफ्ना उम्मेदवारलाई अघि सार्न खोज्दा सहमति जुट्न सकेन । यसले गर्दा अधिवेशन अनिश्चितकालका लागि स्थगित गर्नुपरेको हो । विवाद समाधानका लागि केही वरिष्ठ पत्रकारहरू तथा नेतृत्व तहका व्यक्तिहरूले पहल गरेका थिए ।
तर, दुवै पक्ष आ(आफ्नो अडानमा कायम रहेपछि अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको हो । अब पुनः अधिवेशन कहिले हुने भन्नेबारे कुनै निर्णय नभएको आयोजक समितिले जनाएको छ । अधिवेशनमा सहभागी केही पत्रकारहरूले संगठनभित्र नेतृत्व चयन प्रक्रियामा देखिएको विवादप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूका अनुसार प्रेस सेन्टर नेपालले स्वतन्त्र पत्रकारितालाई प्रवद्र्धन गर्ने संस्थाका रूपमा काम गर्नुपर्नेमा आन्तरिक कलहले यसको छवि नै धूमिल हुन सक्छ ।
यता निवर्तमान सचिव तथा अध्यक्ष पदका प्रत्याशी रमेश कुमार यादवले संगठनको मूल उद्देश्य नै स्वतन्त्र पत्रकारिताको प्रवद्र्धन गर्नु हो भने पनि व्यक्तिगत स्वार्थका कारण योग्य उम्मेदवारलाई नेतृत्व दिन नचाहनु दुःखद भएको बताए । “संगठनको लागि वर्षौँदेखि संघर्ष गरिरहेका सक्षम र योग्य व्यक्तिलाई नेतृत्व दिन नचाहने अनि आफ्ना नजिकका व्यक्तिलाई अगाडि सार्ने प्रवृत्तिले प्रेस सेन्टरको साख र गरिमा कमजोर बनाउनेछ,“ यादवले भने । अब संगठनले यो समस्या कसरी हल गर्छ भन्ने चासो प्रेस जगतमा बढेको छ । प्रेस सेन्टर नेपाल रौतहटको नेतृत्व चयन प्रक्रिया पुनः कहिले सुरु हुने हो भन्ने अझै स्पष्ट भइसकेको छैन ।