रमेश कुमार यादब
माघ २४, रौतहट
गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसावलले नगरवासीको आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता पुनः दोहोर्याएका छन् । यसै क्रममा बिहीबार आयोजित एक विशेष कार्यक्रममा नगर प्रमुख जैसावलले मुस्लिम समुदायका मदरसाका विद्यार्थीहरूका लागि खाद्यान्न सामग्री प्रदान गरेका छन् । उक्त सहयोग गरुडा नगरपालिका–८, जिंगडिया स्थित जामिया अरबिया दारुल उलुम मदरसालाई प्रदान गरिएको हो । नगर प्रमुख जैसावलले उक्त मदरसामा अध्ययनरत विद्यार्थीहरूको खाद्य
सुरक्षाका लागि विभिन्न खाद्य सामग्री हस्तान्तरण गरेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा नगर प्रमुख जैसवाल, स्थानीय समाजसेवी, मदरसा व्यवस्थापन समिति, विद्यार्थीका अभिभावक, धार्मिक नेताहरू र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । नगर प्रमुख जैसवालले मदरसा व्यवस्थापन समिति तथा पूर्व अध्यक्ष हाजि ठगा साहबको विशेष पहलमा निम्न खाद्य सामग्री मदरसाका प्रमुख एमडी जियाउला कास्मीलाई हस्तान्तरण
गरेका थिए । हस्तान्तरण खाद्ययानमा चामल –४ बोरा २५ किलोको, आलु – ५० किलो, दाल –१० किलो, खाने तेल– ५ लिटर, नुन – ५ किलो, मिनरल पानी – १० कार्टुन हस्तान्तरण गर्नु भएका थिए ।

खादयान्न कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जैसवालले भने, “नगरपालिकाका सबै नागरिक समान हुन् । हामी सबै धर्म, जात, समुदायका नागरिकलाई समान रूपमा हेर्दै आईरहेका छौं । “नगरका प्रत्येक नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले निरन्तर सहयोग गर्दै जानेछ । समुदायका कुनै पनि सदस्य समस्यामा परेको खण्डमा नगरपालिकाले आफ्नो भूमिका निर्वाह गर्नेछ ।“ साथै नगरवासीहरूको आवश्यकता अनुसार सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु नगर प्रमुख जैसवालले भने ।“
उनले थपे कि गरिब तथा आर्थिक रूपमा कमजोर समुदायलाई प्राथमिकतामा राखेर नगरपालिकाले विभिन्न योजनाहरू सञ्चालन गरिरहेको छ । शिक्षा, स्वास्थ्य, आधारभूत सुविधाहरूको सहज उपलब्धता र सामाजिक समावेशितालाई प्रवद्र्धन गर्न आफ्नो नेतृत्वमा नगरपालिकाले निरन्तर काम गरिरहेको उनले बताए । मदरसाका हेड एमडी जियाउला कास्मीले नगर प्रमुख जैसवालद्वारा प्रदान गरिएको सहयोग प्रति आभार प्रकट गर्दै भने, “हाम्रो मदरसामा हाल ७५ जना विद्यार्थी होस्टेलमा बसेर अध्ययन गर्दैछन् भने २५० जना विद्यार्थी घरबाट आवतजावत गर्दै अध्ययन गरिरहेका छन् ।
नगरपालिकाले गरेको यो सहयोग हाम्रो विद्यार्थीहरूको लागि निकै महत्त्वपूर्ण छ ।“ यस अवसरमा मदरसाका अन्य शिक्षकहरू तथा स्थानीय बासिन्दाहरूले पनि नगरपालिकाको सहयोगको सराहना गर्दै आगामी दिनमा पनि यस्तै सहयोग निरन्तर रहिरहने विश्वास व्यक्त गरे । गरुडा नगरपालिकाले मुस्लिम समुदायका शैक्षिक तथा सामाजिक विकासमा ध्यान दिँदै आएको छ ।

स्थानीय बासिन्दाहरूले नगरपालिकासँग आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न आग्रह गरेका छन् ।
विशेष गरी कमजोर वर्गका विद्यार्थीहरूका लागि शैक्षिक अवसरहरूमा वृद्धि गर्न नगरपालिकाले थप पहल गर्नुपर्ने आवाज उठाइएको छ । नगर प्रमुख जैसावलले आगामी दिनमा नगरपालिकाका सबै विद्यालय, मदरसा, मठ(मन्दिर तथा सामुदायिक संस्थाहरूलाई आवश्यकतानुसार सहयोग गर्ने आश्वासन दिएका छन्।