रमेश कुमार यादब
माघ २६, रौतहट
रौतहटको सदरमुकाम गौरसँग सिमाना जोडिएको भारतीय बजार बैरगनियाको दशगज्जा क्षेत्रमा गएराति एक नेपाली युवक घाइते अवस्थामा फेला परेका छन् । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका गौर नगरपालिका–१ निवासी २५ वर्षीय अजित कुमार पासवानलाई नेपाली प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ ।शुक्रवार राति करिब ९ बजेको समयमा पासवान भारतबाट नेपालतर्फ आउँदै गर्दा भारतपट्टि पर्ने दशगज्जा क्षेत्रमा घाइते अवस्थामा भेटिएका थिए। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उनलाई देखेपछि उद्धार गरी भन्सार सुरक्षा गार्ड गौरलाई जिम्मा लगाएको थियो।
त्यसपछि नेपाली सुरक्षाकर्मीहरूले उनलाई प्राथमिक उपचार गर्दै गौरस्थित प्रादेशिक अस्पताल पु¥याएका थिए।प्राप्त जानकारी अनुसार पासवानको छातीको बायाँ भागमा गहिरो चोट लागेको छ । कुन कारणले उनलाई आक्रमण गरियो, कसले गर्यो भन्ने विषय अहिलेसम्म खुल्न सकेको छैन । यो घटना उनीमाथि आक्रमण कसले गर्यो, किन गर्यो भन्ने विषय प्रहरी अनुसन्धानपछि मात्र खुल्नेछ । घटनास्थल सीमा क्षेत्र भएकाले यस घटनामा कुनै अपराधिक समूहको संलग्नता हुनसक्ने आशंका गरिएको छ ।
यो घटना सीमावर्ती क्षेत्रमा सुरक्षाका चुनौतीहरू कायमै रहेको संकेत दिन्छ । नेपाल(भारत खुला सीमा क्षेत्र भएकाले त्यहाँ यस्ता घटना बेलाबेला हुने गर्छन् । प्रहरी स्रोतका अनुसार पछिल्लो समय गौर क्षेत्रमा अपराधिक गतिविधि बढ्दै गएको छ, जसमा लागुऔषध ओसारपसार, अवैध सामान तस्करी तथा सीमा क्षेत्रमा विभिन्न आपराधिक क्रियाकलाप हुने गरेका छन् ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेका अनुसार घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार घाइतेको अवस्था सामान्य भएपछि विस्तृत बयान लिएर घटनाको सत्यतथ्य पत्ता लगाइनेछ ।यो घटनापछि नेपाल(भारत सीमाक्षेत्रमा सुरक्षा निगरानी थप कडा पार्ने निर्णय गरिएको छ । प्रहरीले सीमा क्षेत्रमा गस्ती बढाउने र घटनाको गहिरो अनुसन्धान गर्ने जनाएको छ । स्थानीयबासीहरूले पनि दशगज्जा क्षेत्रमा सुरक्षाको चुनौती बढ्दै गएको भन्दै प्रशासनलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।