रमेश कुमार यादब
फाल्गुन ०३, रौतहट
गरुडा नगरपालिकाको वार्ड नं. ६ पोठियाहिमा निर्माण गरिने कलवार धर्मशालाको शनिबार एक भव्य समारोहका बीच शिलान्यास गरिएको छ । नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले विधिवत रूपमा धर्मशालाको शिलान्यास गर्दै यस परियोजना धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गर्नुभयो । नगरस्तरीय बजेटबाट रु. २० लाखको लागतमा निर्माण हुन लागेको यो धर्मशाला धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूको लागि महत्त्वपूर्ण स्थल बन्ने विश्वास गरिएको छ ।
अढाई कठा क्षेत्रफलमा फैलिएको यस धर्मशालाले स्थानीय बासिन्दा, यात्रु एवं श्रद्धालुहरूको लागि आवश्यक सुविधा प्रदान गर्ने लक्ष्य राखिएको छ । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख जैसवालले यो धर्मशाला स्थानीय समुदायका लागि विशेष महत्व राख्ने बताउनु भयो । उहाँका अनुसार यस धार्मिक तथा सामाजिक संरचनाले विभिन्न उत्सव, परम्परागत कार्यहरू तथा अन्य सार्वजनिक कार्यक्रम सञ्चालन गर्न सहजता प्रदान गर्नेछ । साथै, यात्रु तथा श्रद्धालुहरूका लागि आवश्यक सुविधासहितको धर्मशाला निर्माण गरिने उल्लेख गर्नुभयो । गरुडा नगरपालिकाले नगरवासीहरूको धार्मिक तथा सामाजिक आवश्यकताहरूलाई मध्यनजर गर्दै समुचित पूर्वाधार निर्माणमा निरन्तर प्रतिबद्धता जनाइरहेको बताए ।
उनले थपे, “नगरपालिका जनताको सेवा गर्न सधैं तत्पर छु , जनताको हकहित र विकासका लागि कुनै पनि जालझेल वा बाधाको सामना गर्न पछि नहट्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले भने, “हामीलाई जति बाधा आए पनि, जनताको हितका लागि निरन्तर संघर्ष गर्नेछौँ । नगरवासीहरूको आवश्यकतालाई ध्यानमा राख्दै समुचित पूर्वाधार निर्माणमा लागि पर्नेछौँ । गरुडा नगरपालिकाले समुदायबीच भाइचाराको सम्बन्ध अझ मजबुत बनाउन प्रयास गरिरहेको भन्दै यस परियोजनाले सामाजिक एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यस अवसरमा सोहि वार्डका वडाअध्यक्ष रामबाबु चौधरी, स्थानीय अगुवा, समाजसेवी, नगर प्रतिनिधिहरू, तथा स्थानीय बासिन्दाहरूको व्यापक उपस्थिति रहेको थियो । उनीहरूले धर्मशाला निर्माणले समाजमा आपसी मेलमिलाप, धार्मिक सहिष्णुता, र सामाजिक ऐक्यबद्धता बढाउने विश्वास व्यक्त गरे । उक्त धर्मशाला यात्रुहरूका लागि सुरक्षित तथा व्यवस्थित वासस्थान उपलब्ध गराउने मात्र नभई विवाह, धार्मिक अनुष्ठान, तथा अन्य सामाजिक कार्यहरूका लागि समेत उपयोगी हुने अनुमान गरिएको छ । स्थानीय सरकार तथा समुदायको सहकार्यमा अघि बढाइएको यस परियोजनाले गरुडा नगरपालिकालाई थप विकसित र सुव्यवस्थित बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।