रमेश कुमार यादब
फाल्गुन ०६, रौतहट
माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी गर्ने अवसर पाएका विद्यार्थीहरूलाई लक्षित गर्दै गरुडा नगरपालिका(५, महम्मदपुरमा निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको छ । यस विशेष पहल गरुडा नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष रामबिनोद साहको व्यक्तिगत लगानीबाट गरिएको हो । उनले आफ्नो वार्डभित्रका सम्पूर्ण एसईई परीक्षार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले निःशुल्क तयारी कक्षा सञ्चालन गरेका हुन् । वडाअध्यक्ष साहका अनुसार अंग्रेजी, गणित, विज्ञान र सामाजिक अध्ययन जस्ता विषयमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने प्रवृत्ति रहेको छ ।

त्यसैले विद्यार्थीलाई मुख्य कठिनाइ हुने विषयमा विशेष जोड दिई दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा निःशुल्क कक्षा सञ्चालन गरिएको हो । वडाअध्यक्ष साहले विद्यार्थी तथा अभिभावकहरूलाई निःशुल्क कक्षामा सहभागी भई आगामी एसईई परीक्षामा उत्कृष्ट परिणाम ल्याउन प्रेरित हुन आग्रह गरेका छन् । वडाअध्यक्ष साहले शिक्षकहरूको सिकाइ सिप सुधार गर्न आवश्यक रहेको औंल्याउँदै विद्यार्थीलाई प्रभावकारी रूपमा पढाउन सक्ने वातावरण बनाउनुपर्ने बताए । “शिक्षकहरूमा ज्ञान भए पनि सिकाइको प्रभावकारी प्रविधि नअपनाउँदा विद्यार्थीहरू असफल हुने गरेका छन्,” उनले भने ।
यस कारण शिक्षकहरूलाई समेत परिष्कृत विधिबाट अध्यापन गराउन प्रेरित गरिएको छ । यो निःशुल्क तयारी कक्षा गरुडा नगरपालिका(४, गरुडामा रहेको सृष्टि कोचिङ सेन्टर मा सञ्चालन भइरहेको छ । विद्यार्थीको समय व्यवस्थापनलाई ध्यानमा राख्दै बिहान र बेलुका दुई सत्रमा कक्षा सञ्चालन गरिने व्यवस्था मिलाइएको छ । हालसम्म वार्डभरिका १२९ जना विद्यार्थी निःशुल्क कक्षामा सहभागी भएका छन् ।
शिक्षकहरूको निरन्तर मार्गदर्शनका साथ परीक्षार्थीहरूलाई लेखन, अभ्यास तथा पाठ्यक्रम बुझेका आधारमा
तयारी गराइने छ । साथै, परीक्षा नजिकिएसँगै नियमित परीक्षाहरू लिई विद्यार्थीको स्तर पहिचान गरिने योजना रहेको छ । साथै अगामी बैशाख १ गते देखि ८, ९ र १० का बिधार्थीका लागी पनि निशुल्क तयारी कक्षा संन्चालन गरिने वडाअध्यक्ष साहले बताउनु भएको थियो । निःशुल्क तयारी कक्षाको अवसर पाएकोमा विद्यार्थीहरू खुसी देखिएका छन् ।
“हामीलाई महँगो शुल्क तिरेर ट्युसन पढ्नुपर्ने बाध्यता थियो, तर अहिले वडाअध्यक्ष साहको सहयोगले राम्रो तयारी गर्न पाएका छौं,” एक विद्यार्थीले भने । दक्ष शिक्षकहरूबाट पाठ सिक्न पाउँदा परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने आत्मविश्वास बढेको बताएका छन् । अभिभावकहरूले पनि यस्तो पहलप्रति धन्यवाद व्यक्त गर्दै शिक्षामा सुधार ल्याउनका लागि वडास्तरमै यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।
वडाअध्यक्ष साहले आगामी वर्षहरूमा समेत विद्यार्थीहरूलाई लक्षित गरी थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए। विद्यार्थीहरूको शैक्षिक भविष्य सुधार्न यस्ता प्रयासहरू आवश्यक रहेको स्थानीय बासिन्दाहरूले बताएका छन् । यो प्रयासले गरुडा नगरपालिकाभित्रका अन्य वडाहरूलाई पनि यस्ता सहयोगी तथा विद्यार्थीमैत्री योजनाहरू सञ्चालन गर्न प्रेरित गर्ने विश्वास गरिएको छ