रमेश कुमार यादब
फाल्गुन ०६, रौतहट
रौतहटको परोहा नगरपालिकामा अवैध रूपमा ल्याइएका बेवारिसे ब्रोइलर कुखुराका चल्लाहरू नष्ट गरिएको छ । सोमबार प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको गस्ती टोलीले नियमित गस्ती गर्ने क्रममा परोहा नगरपालिका(७ को सीमाक्षेत्रमा भारतबाट नेपाल भित्र्याउन खोजिएको प्रतिबन्धित ब्रोइलर कुखुराका १ हजार ४ सय चल्लाहरू बेवारिसे अवस्थामा फेला पारेको थियो । गस्ती टोलीले ती कुखुराका चल्लाहरू तुरुन्तै नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक कुमार रायका अनुसार ती चल्लाहरूलाई मंगलबार स्थानीय भद्रभलामी र सञ्चारकर्मीहरूको रोहवरमा नष्ट गरिएको हो । नेपाल सरकारले रोग नियन्त्रण तथा स्थानीय कुखुरा व्यवसायलाई जोगाउने उद्देश्यले भारतबाट ब्रोइलर कुखुरा तथा चल्ला आयातमा रोक लगाएको छ । तर, चोरी निकासी गर्ने गिरोहले पटक(पटक यस्ता प्रयास गर्ने गरेको पाइएको छ ।
यसअघि पनि रौतहट, पर्सा, बारा लगायतका सीमावर्ती क्षेत्रमा प्रहरीले यस्ता अवैध चल्लाहरू नियन्त्रणमा लिएर नष्ट गर्ने गरेको छ । डीएसपी रायले अवैध रूपमा पशुपन्छी भित्र्याउँदा स्वास्थ्य जोखिम हुन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गरेका छन्। साथै, सीमावर्ती क्षेत्रमा यस प्रकारका अवैध गतिविधि भएमा प्रहरीलाई खबर गर्न स्थानीयबासीलाई अनुरोध गरिएको छ । यस घटनाले नेपाल(भारत सीमाक्षेत्र हुँदै हुने अवैध पशुपन्छी तस्करीप्रति थप कडाइ गर्नुपर्ने आवश्यकतालाई पुनः सतहमा ल्याएको छ ।


