वर्तमानकाल सम्वाददाता
फाल्गुन ०६, रौतहट
रौतहटको गौर अस्पताल मधेश प्रदेशको उत्कृष्ट र देशको टपटेनको सुचीमा परेको छ । मधेश प्रदेश स्वास्थ मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम अनुसार गरिएको अनुगमन निरिक्षणमा कार्य सम्पादन मूल्यांकनको आधारमा
रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पताल मधेश प्रदेश मै उत्कृष्ट र देशको टपटेन अस्पतालको सूचीमा पर्न सफल भएको हो । सो मुल्याङकनमा प्रादेशिक अस्पताल गौर कुल ८९ प्रतिसत मार्क ल्याएर मधेश प्रदेशको ६ वटा प्रादेशिक अस्पताल मध्ये १ नम्बर र देशकै ५० बेडका २० प्रादेशिक अस्पताल मध्ये उत्कृष्ट १० मा पर्न सफल भएको मेडिकल सुपरटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले जानकारी दिनु भयो ।
प्रदेश स्वास्थ मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम लगायत बिभिन्न निकायका ७ सदस्यीय टोलीले आईतवार देखी प्रादेशिक अस्पताल गौरको सुक्षम तरिकाले छड्के अनुगमन निरीक्षण सुरु गरेको थियो । अनुगमन निरीक्षण पश्चात सोमवार साँझ अस्पतालको सभा कक्षमा टोली प्रमुख नर्सिङ प्रशासक नवौं तह सुनिता गुप्ताको अध्यक्षतामा एक बिशेष कार्यक्रमको आयोजना गरी नम्बरिङको निष्कर्ष निकालिएको अस्पताल विकास समितिका अध्यक्ष महमद अनवर हासमीले बताउनु भयो ।
न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अनुगमन टोलीले अस्पतालले दिइरहेको सेवा, डाक्टर स्वास्थ्यकर्मीको अवस्था, उनीहरूले बिरामीसंग गर्ने ब्यवहार,भौतिक पूर्वाधारको अवस्था, एम्बुलेन्स, क्यान्टिन, बिरामीको बेड, अपरेसन कक्ष ,शौचालयको अवस्था, सरसफाई, अस्पतालले बिरामीलाई दिने सुविधा लगायतको मूल्यांकन गरी छुट्टाछुट्टै नम्बर दिने गरेको अध्यक्ष हासमीले बताउनु भयो । प्रादेशिक अस्पताल गौरमा यस आर्थिक बर्षको ७ महिनामा बिभिन्न जटिल अपरेसन, सघन सेवा सहित ४३ हजार भन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ ।
सो कार्यक्रममा जिल्ला प्रसान कार्यालय रौतहतका प्रशासकिय अधिकृत मनिष झा, मेसु डाक्टर ठाकुर, अध्यक्ष हासमी, स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंह, मधेस प्रदेश एमएमएस स्कोरिङ टिमका पदाधिकारीहरु लगायत अस्पतालको सम्पूर्ण कर्मचारी तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।