वर्तमानकाल सम्वाददाता
फाल्गुन ०६, रौतहट
रौतहटको ग्रामीण भेगमा मोटरसाईकिल आतंक बढेको छ । आज यसकै नमूनाको झझल्को दिनेगरी एउटा घटना घटेको छ । जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरीमा चारजना सवार मोटरसाईकलको ठक्कर बाट एकजना गम्भीर घाईते भएका छन् ।
दुईवटा अलगअलग मोटरसाईकिलमा गरि आठजना सवार भई ध्वनि आतंक मचाइरहेका थिए । बहुअरी स्थित दलित टोलमा ती दुईवटा मोटरसाईकिलमा सवार भएकाहरूले मोटरसाईकलको अस्वभाविक आवाज निकालि तीन पटक ओहोरदोहोर गरेका थिए ।
ओहोरदोहोर गर्ने क्रममा मंगलबार बेलुकी ६ बजेर ५० मिनेटमा दुई मोटरसाईकिल मध्ये ना ५६ प ९८२५ नम्बर प्लेट भएको होण्डा साईन मोटरसाईकलको ठक्करबाट स्थानीय महिन्द्र हजराको छोरा ओमप्रकाश हजरा गम्भीर घाईते भएका छन् ।
उनको उपचार गरूडा स्थित एक निजि अस्पतालमा भईरहेको पारिवारिक स्रोतले जानकारी गराएको हो । सो मोटरसाईकिलमा सवार ४ जना मध्ये चालक सचिन साह,अनिल साह,मुना यादव,रोहित कुमार यादव रहेको प्रत्यक्षदर्शी वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवानले जानकारी गराएका हुन् ।
मोटरसाईकल छोडी चारैजना फरार भएका छन् । स्थानीयहरूले बाईकलाई आफनो नियन्त्रणमा लिई प्रहरी चौकी बिर्ताको जिम्मा लगाएका छन् । अर्को बाईक एसपि साइनमा सवार चारजना रत्नेश यादव, निरोज यादव,चन्दन पाल,रन्जेश यादव बाईक सहित फरार भएको उनको भनाइ छ । दुवै गाडिमा सवारहरूले हुटिङ्गहरू गर्दै र सिटि बजाउँदै मोटरसाईकिल चलाईरहेका थिए । यसरी मोटरसाईकल आतंक मच्चाउनेहरूमाथि हदैसम्मको कार्यवाही गर्न स्थानीयहरूले प्रहरी प्रशासन सँग माग गरेका छन् ।