रमेश कुमार यादब
फाल्गुन ०७,रौतहट
बृन्दावन नगरपालिकाले पछिल्लो समय स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा उत्कृष्ट प्रगति हासिल गर्न सफल भएको छ । नगर प्रमुख बिनोद प्रसाद कुर्मिको नेतृत्वमा नगरपालिकाले उल्लेखनीय सुधार गर्दै गएको देखिएको छ ।२०७८÷०७९ मा नगरपालिकाले लिजामा जम्मा १७ अंक प्राप्त गरेको थियो । तर, नगर प्रमुख बिनोद प्रसाद कुर्मि निर्वाचित भएपछि उनले निरन्तर मिहिनेत गर्दै नगरपालिका सञ्चालनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन विशेष ध्यान दिए ।
प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलको समेत आर्थिक व्यवस्थापनमा सक्रिय भूमिका रहेकाले नगरपालिकाले लिजा मूल्याङ्कनमा ठूलो फड्को मार्न सफल भएको हो ।२०७९÷०८० मा पहिलो पटक स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन गर्दा नगरपालिकाले ४१.५ अंक प्राप्त गर्न सफल भयो । यस उपलब्धिपछि नगरपालिकाले अझै मेहनत बढाउँदै संस्थागत सुधारका विभिन्न कार्यक्रमलाई प्राथमिकता दिएको थियो ।
निरन्तर सुधारको प्रयासस्वरूप ०८०÷०८१ को मूल्याङ्कनमा नगरपालिका ६८.२५ अंक प्राप्त गर्न सफल भयो, जुन पछिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी वृद्धि हो ।लिजा मूल्याङ्कन अनुसार नगरपालिका राम्रो कार्यसम्पादन गर्न सफल भएको हुँदा यसअनुसार राज्यबाट प्राप्त हुने अनुदान समेत सुनिश्चित भएको छ । स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७ (लिजा) स्थानीय तहको क्षमता र कमजोरी पहिचान गरी सुधार गर्ने उद्देश्यले तयार गरिएको मार्गनिर्देशिका हो ।

यस कार्यविधि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को कार्यान्वयनका आधारमा तयार पारिएको हो । नगर प्रमुख कुर्मिले नगरपालिकाले लिजा मूल्याङ्कनमा उच्च अंक ल्याउन सफल हुनु नगरवासी, कर्मचारी तथा सम्पूर्ण टिमको सामूहिक प्रयासको
परिणाम भएको बताए । उनले आगामी वर्षहरुमा अझै उच्च अंक प्राप्त गर्न नगरपालिकाले थप सुधारका कार्यहरु अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । प्रमुख प्रशासकीय अधिकृत भुजेलले पनि नगरपालिकाले पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहमा सुधार गर्दै अघि बढेकाले लिजा मूल्याङ्कनमा सकारात्मक उपलब्धि हात परेको बताए ।
बृन्दावन नगरपालिकाको यो उपलब्धिले नगरवासीलाई थप सेवा प्रवाहमा प्रभावकारी सुधार आउने विश्वास गरिएको छ । स्थानीय तहको सशक्ती करणका लागि नगरपालिकाले गर्दै आएका प्रयासहरुले राज्यबाट थप अनुदान तथा सहयोग प्राप्त हुने सम्भावना बलियो बनाएको छ । लिजाले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिगत लेखाजोखा गरी सबल र दुर्वल पक्ष पहिचान गर्ने, विकास र सुशासनमा रहेका कमजोरीको जानकारी लिने, कार्यसम्पादनको आवधिक समीक्षाको आधार प्राप्त गर्ने, गाउँपालिका र नगरपालिकाबिच तुलनायोग्य सूचकका आधारमा प्रतिस्पर्धात्मक सुधार गरी स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउने उद्देश्य लिएकोे छ ।
कमजोर स्थानीय तहलाई क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न र सक्षमका लागि नवीन सिर्जनात्मक कार्य गर्ने प्रेरणा दिनु पनि लिजाको उद्देश्य रहेको छ ।