
वर्तमानकाल सम्वाददाता
फाल्गुन ०९ गते ।
भारतीय सीमाशस्त्र बल (एसएसबी) को ज्यादतीका कारण सर्लाहीका एक निर्दोष युवकले आफ्नो खुट्टा गुमाउनु परेको छ। घरायसी सामान लिएर फर्किने क्रममा एसएसबीको बल प्रयोगबाट उनी गम्भीर घाइते भएका थिए। सर्लाहीको बलरा नगरपालिका–३ निवासी १८ वर्षीय गोलु राय गत फागुन ७ गते बिहान बसविट्टा बजारबाट चिनी र चामल किनेर मोटरसाइकलमा घर फर्किंदै गर्दा भारतीय सीमाशस्त्र बलले उनलाई रोक्न खोजेको थियो। प्रत्यक्षदर्शी नागेन्द्र रामका अनुसार, राय रोक्न नखोजी अघि बढेपछि एसएसबीका जवानहरूले उनलाई लखेट्दै लौरोले प्रहार गरे।
एसएसबीको कुटाइका कारण राय नेपाली भूमिमै लडे र उनको खुट्टा गम्भीर रूपमा भाँचियो। घाइते अवस्थामा रहेका रायलाई थप कुटपिट गर्न खोज्दा स्थानीयवासी जम्मा भएपछि एसएसबीका जवानहरू भागेको रामले बताए। रायलाई तत्कालै वीरगञ्जस्थित अस्पतालमा पु¥याइएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई ललितपुरको बी एण्ड बी अस्पताल लगियो। चिकित्सकहरूले उनको भास्कुलर नसा च्यापिएको कारण खुट्टा बचाउन नसकिने भन्दै शल्यक्रिया गरेर खुट्टा काट्नुपर्ने निर्णय गरेका थिए। पीडितका पिता महेन्द्र रायले आँसु झार्दै भने, “मेरो छोराको दोष केवल सीमावर्ती बजारबाट सामान ल्याउनु मात्र थियो। एसएसबीको अमानवीय व्यवहारका कारण उसले आफ्नो खुट्टा गुमाउनुपर्यो।“
घटनाबारे प्रतिक्रिया दिँदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले स्थानीय युनिटबाट घटनाको जानकारी प्राप्त भएको बताए। उनले भने, “हामी यस घटनाबारे गम्भीर छौं र आवश्यक अनुसन्धान गरिरहेका छौं।“ यसैबीच, एसएसबीको २० बी बटालियन काण्डेन्टलाई सम्पर्क गर्दा युवकलाई रोक्न खोज्दा तीव्र गतिमा भागेको र दशगजा क्षेत्रभन्दा ३०० मिटर नेपाली भूमिमा लडेको दाबी गरेका छन्। यो घटना सीमावर्ती क्षेत्रमा भारतीय एसएसबीद्वारा भइरहेका ज्यादतीको पछिल्लो उदाहरण हो।
